जाजरकोटमा गाडी दुर्घटना हुँदा २८ घाइते
२६ कार्तिक, काठमाडौं । जाजरकोटमा भएका छुट्टाछुट्टै दुई वटा सवारी दुर्घटनामा २८ जना घाइते भएका छन् ।
भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगन्जका लागि छुटेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३ कुदु जिरो प्वाइन्टनजिक दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिनेश तिमिल्सेनाका अनुसार जगतीपुर प्रहरीले चेकजाँच गर्ने क्रममा १० जना महिला ७ जना पुरुष र ५ जना बालबालिका सहित २१ जना ईन्ट्री गराएको देखिएता पनि बिचबाटोमा केही यात्रु थपेको प्रहरीको अनुमान छ । उहाँका अनुसार गाडीमा सवार ४ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी घाइतेलाई सामान्य चोट लागेको छ ।
स्वास्थ्य चौकी कुदुमा प्राथमिक उपचारपछि थप उपचारका लागि घाइतेहरुलाई जाजरकोट अस्पतालमा पठाएको छ । मोडमा गाडी अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
त्यस्तै बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका–४ को बाउसेखोलाको जिरो प्वाइन्टमा दुर्घटना भएको छ । जाजरकोट प्रहरीका अनुसार गाडी बिच सडकमा पल्टिएको छ, जसका कारण तीन जना घाइते भएका छन् ।
उक्त दुर्घटनामा घाइते भएका तीन जनालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि पठाइएको प्रहरीको भनाइ छ ।