हेटौंडामा ट्यांकरको टायर पड्कँदा एक जनाको मृत्यु, ५ घाइते
२७ कार्तिक, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएर एकको मृत्यु र पाँच जना घाइते भएका हुन् ।
मधेस प्रदेश ०३–००२ ख ०३०० न.को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किन जाँदा टायर पसलका मिस्त्री÷साहू भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु भएको हो ।
टाउको र शरीरको बायाँतर्फ गम्भीर चोट लागेर घाइते भएका ऐजाजको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताउनुभयो । टायर पड्किन जाँदा सोही पसलको कामदार पर्सा जिल्ला धोबिनी गाउँपालिका २ का वर्ष १८ का जाबिर हवारे, मधेस प्रदेश ०३–००२ख ०३०० न।को ट्याङ्कर चालक हेटौँडा ११ स्मारक बस्ने वर्ष ३९ को देवान लामा, धादिङ जिल्ला धुनिबेशी नगरपालिका २ भञ्ज्याङपोखरीका वर्ष २३ का उत्तम बस्नेत, हेटौँडा ११ नवलपुरका वर्ष ४७ का मोहनलाल दुलाल र अर्को ट्याङ्करका चालक धादिङ जिल्ला थाक्रे गाउँपालिका ८ का वर्ष ३८ का लक्ष्मण थापा घाइते हुनुभएको छ ।