रु एक करोड ५० लाख जग्गा आँखा उपचार केन्द्रलाई दान
असोज ३, काठमाडौँ । पूर्वी चितवनको खैरहनीस्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीयवासी एक परिवारले जग्गा दान गरेका छन् ।
समाजसेवी जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका–८ मा रहेको सात धुर जग्गा नेपाल नेत्रज्योति सङ्घको नाममा हस्तान्तरण गर्नुभएको हो । वडा कार्यालय नजिकै रहेको सो जग्गाको प्रचलित मूल्य रु एक करोड ५० लाख गर्ने जनाइएको छ ।
लायन्स क्लब अफ चितवन इस्टको व्यवस्थापनमा सञ्चालन हुने गरी विसं २०६५ देखि पर्सामा आँखा उपचार केन्द्र सञ्चालन गरिएको थियो । बिरामीको चाप बढ्दै गएसँगै आँखाको शल्यक्रियासहित अतिरिक्त सेवा प्रदान गर्न सहज होस् भनेर जग्गा उपलब्ध गराइएको हो । क्लबका पूर्वअध्यक्ष एवं उपचार केन्द्रका अध्यक्ष केएन सिलवालका अनुसार सो जग्गा सङ्घका नाममा मालपोत कार्यालय खैरहनीबाट रजिष्टेसन गरिएको छ ।
सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालका प्रशासक दयाशङ्कर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल मुख्य रहेको छ भने सेकेन्डरी क्लिनिकका रुपमा ठोरी र कावासोतीमा शल्यक्रियासहितको सेवा दिइँदै आएको छ ।
भरतपुरको उकालोमा सिटी क्लिनिक रहेको छ । यही १० गते धादिङको बेनिघाटमा केन्द्र सञ्चालनमा ल्याइँदै छ । अस्पतालले एक वर्षमा दुई लाख हाराहारी बिरामीलाई सेवा दिँदै आएको छ । यही अस्पतालको फेको सेन्टरका रुपमा पर्सालाई विकास गरिँदै छ ।