भीम लामा ।
मूलुकमा परिवर्तनका विभिन्न कालखण्ड हुँदै लोकतान्त्रिक गणतन्त्रको व्यवस्था आए तर राज्यको सेवा सुविधाबाट बञ्चित छन् ओख्रेनी र चिलाउने । संघीय राजधानी काठमाडौँ जिल्लाभित्रै पर्दछन् ती गाउँहरु ।
संघीय संरचना पश्चात नगरपालिकाको रुपमा घोषणा भएपछि अहिले उक्त बस्तीहरु गोकर्णेश्वर नगरपालिका वडा नं.– १ अन्तरगत पर्दछ । नुवाकोटको सिमनामा परेको यो बस्तीमा करिब ३६० घरधुरी रहेका छन् । उक्त गाउँबस्तीमा तामाङ समुदायको बहुल्यता रहेता पनि क्षेत्री, नेवार र गुरुङ लगायत समुदाय पनि बस्दै आएका छन् ।
काठमाडौँकै भू–भाग परेपनि आफूहरु हरेक सेवा सुविधाबाट बञ्चित रहेको सुनाउँछन् ओख्रेनीका रिसिराम खत्री । उनका अनुसार स्थानीय सरकार आएपछि गोरेटो बाटोलाई अलि सहज बनाउन खोजिएपनि आवश्यक पूर्वाधारको अभावले गाउँबस्ती नै ओझेलमा परेको छ । खानेपानी, यातायात, स्वास्थ्य र शिक्षाको अभावका कारण गाउँमा परिवर्तन हुन मुस्किल भएको बताउँछन् ।
त्यस्तै गाउँका ६७ वर्षिय पदमबहादु तामाङ भन्नुहुन्छ– ‘आशैआशले जीवन बित्ने भो, अव आफ्नो नाती– नातिनीको पालामा पनि गाउँमा कुनै सुविधा आउने टुंगो भएन ।’ तामाङ भन्नुहुन्छ– नगरपालिकामा को मेयर छन् को वडा अध्यक्ष केही थाहा छैन् । चुनावको बेला आउँछन् अरुबेला आउँदैनन् र चिन्दापनि चिन्दिन । वडा अध्यक्षहरु पनि सुन्दरीजलकै हुन्छन् सबै विकासको काम पनि त्यतै हुन्छ, हाम्रो बारेमा सुनिदिने र बोलिदिने कोही भएनन् उनी गुनासो सुनाउँछन् । वर्तमान निर्वाचनको कुरा त परै जाओस् अघिल्लो ‘सांसद’ र ‘मेयर’ को हुन् ? उनलाई थाहा छैन । जसोतसो गरेर खाएपनि मूख्य समस्या यातायात नै रहेको बताउँदै बाटो निर्माण गरी सवारी छुट लगायतका विषयमा आफ्नो आवाज सम्बन्धित पक्षसंग पु¥याईदिन हामीसंग अनुरोध गर्नुभयो ।
शिवपुरी नागर्जुन राष्ट्रिय निकुन्जभित्र बस्ती भएकै कारण कतिपय काम गर्न कठिनाई आइरहेको स्थानीयहरु बताउँछन् । पुखौँदेखि बसोबास गर्दै आएकोले आफ्नो ठाउँको माया लागेको बताउने ओख्रेनीबासीहरु निकुञ्जभित्रका जंगली जनवारहरुसंग चुनौती सामाना गर्दै बस्नुपर्ने अवस्था रहेको बताउँछन् । पाकेको खेतीबारी नोक्सानीदेखि घरपालुवा जनवारसमेत आक्रमण गरेको जर्जर अवस्था सहेर बस्नुपर्ने बाध्यता छ । जंगली जनवारबाट सुरक्षित रहन तारबार लगाउन सम्बन्धित पक्षसंग पटक–पटक आग्रह गरेपनि सुनुवाई नभएको उनीहरु बताउँछन् ।
पर्यटकीय एवम् धार्मिक क्षेत्र मुलखर्क, ओख्रेनी, चिलाउने र कुने गाउँहरुमा प्राकृतिक सुन्दरतासंगै स्वच्छ हावापानी र मनोरम दृश्यवालोकन गर्न सकिन्छ । रसुवाको गोसाईकुण्ठ, सिन्धुपाल्चोकको हेलम्बु, काभ्रेको नगरकोट र नुवाकोटको विभिन्न गाउँमा पुग्ने हाईकिङ तथा पर्यटन पदमार्ग रहेको क्षेत्रको व्यवस्थापनमा सम्बन्धित वडा, नगर तथा जिल्लाले चासो नलिएकोले प्रशिद्ध एवम् मौलिक साँस्कृकित विविध बोकेको ठाउँ ओझेलमा परेको छ ।
मूख्य पेसाः
खेतीपातीका रुपमा कोदो, पिडालु, फापार र मकै उब्जाउ हुन्छ तर ६ महिना पनि पुग्दैनन् खाना । अन्य पेसा नभएपछि अर्को पेसा हो रक्सी पार्ने । तयारी रक्सी बेचेर चमाल र अन्य रासन किनेर ल्याउँछन् गाउँलेहरु । सुन्दरीजल, जोरपाटी, बौद्ध लगायत केही स्थानमा बेच्नका लागि आएपनि प्रहरीले दुःख दिने गर्छन् । जसोतसो जीविका चलाउँदै आएका ओख्रेनी, कुने, चिलाउने र मुलखर्कका नागरिक काठमाडौँबासी भएको अनुभूति गर्दैनन् ।
यातायातको समस्याः
सुन्दरीजलबाट करिव २ घण्टाको पैदलयात्री गरी आफ्नो जीवन गुजरा चलाउँदै आउनुभएका ओख्रेनीबासीहरु अहिले अस्थायी रुपमा बस सञ्चालन भएता पनि चर्को भाडाका कारण सास्ती खेप्नुपरेको छ । समितिको रुढ नभएको कारण नीजि रुपमा सञ्चालन गरेको बस स्थानीयाबासीका लागि फलामको चिउरा चपाउनु सराह भएको छ । विरामी पर्दा काम लाग्दै अर्कै गाडी बोलाउनुपर्छ, आउने जाने गर्दा ६ हजार लाग्छ – स्थानीयहरु बताउँछन् । गाडी चढ्नै परेपनि सुन्दरीजलसम्म आईपुग्न रु. १०० रुपैयाँ भाडा लाग्छ । नियमित बस सेवा र भाडा सहुलियत भएमा त्यस सुन्दर गाउँका नागरिकलाई सहज हुने हाम्रो अपेक्षा पनि छ ।
शिक्षामा समस्याः ८ कक्षा भएपछि छोड्नुपर्ने बाध्यता
तीन वटा गाउँ अनि एक विद्यालय जसोतसो कक्षा ८ सम्म सञ्चालन भईरहेको छ । त्यस गाउँका बालबालिका कक्षा ८ पढेपछि उच्च शिक्षा हासिल गर्ने ठाउँ छैन् । ओख्रेनी–सुन्दरीजल आवाजजावत गर्न गाडी भाडा दैनिक रु. १२० लाग्ने गरेको इश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक मधु प्रसाद सिंखडा बताउनुहुन्छ । गाडीभाडाको हिसावले हेर्ने हो भने कुनै नीजि विद्यालयमा पढाएको भन्दा कम भएन । त्यस विद्यालयमा दरबन्दी र शिक्षकको अभावमा कक्षा ९ र १० सञ्चालन गर्न नसकिएको प्रधानाध्यपक सिंखडा बताउँनुहुन्छ । गाउँमा कक्षा ८ सम्म मात्र पढाई हुने भएकाले थप शिक्षाको लागि निकै चुनौति भईरहेको उहाँले बताउनुभयो ।
व्यावसाय र रोजगारको अभावसंगै दैनिक खर्च गरेर विद्यालय पठाउन नसकिएपछि बालबच्चाहरुको पढाई बिचमै छाड्नुपर्ने बाध्यता भएको अभिभावकहरु सुनाउनुहुन्छ । स्थानीयहरु र ईश्वरी आधारभूत विद्यालयको प्रयासमा दरबन्दी र शिक्षक माग गरेपनि नगरपालिका र सम्बन्धित पक्षले चासो नदेखाएको गुनासो रहेका छन् ।
निर्वाचनको महोल
अहिले निर्वाचनको पर्व चलिरहेको छ । विभिन्न राजनीतिक दलले आफ्नो उम्मेद्वारलाई घाँटीमा नअट्ने गरी फूलमाला लगाएर टोल गुमाइरहेका छन् । उम्मेद्वारहरुले सोझा जनतालाई विभिन्न योजना र आशा बाढ्दै हिडिरहेका छन् । कतिपयाले निर्वाचन आचारसंहिताको समेत धज्जी उडाउँदै मतदातालाई बस्तुलाईझै मोलमोलाई गरिरहेका छन् । आफुतर्फ आकर्षित गर्न विभिन्न भ्रम समेत छर्न बाँकी छैनन् उम्मेद्वार र राजनीतिक दल । बिडम्बना संघीय राजधानीकै यी ठाउँबस्तीको समस्या सुन्नुपर्दा लाग्छ राजनीति र सरकार चलाउनेहरु हुनेखाने र सम्पन्न वर्गहरुको हितका लागि मात्र सिमित रहेको देखिन्छ ।
यस अघि ओख्रेनी, चिलाउने जस्ता बस्तीहरुको प्रतिनिधित्व गर्दै क्षेत्रिय सांसद बनेका कृष्ण राई, प्रदेश मन्त्री समेत बनेका रामेश्वर फुयाँल र गोकर्णेश्वर नगरपालिकाको पूर्व मेयर सन्तोष चालिसेहरु फेरी पनि चुनावी मैदानमा होमिएका छन् । आफ्नो निर्वाचन क्षेत्रका यी समस्याहरु नदेख्ने र नपुग्ने ती नै व्यक्ति फेरि उम्मेद्वार बनेको देख्दा ती गाउँलाई गिज्याईरहको जस्तो लाग्छ । ५ वर्षको कार्याकाल नगर चलाउने मेयरसाब, प्रतिनिधिसभा सदस्य भएर सांसद छिर्ने राई र प्रदेश मन्त्री भएर बाघको मूर्ती र कागको मूर्तिमा खर्च गर्ने पूर्व मन्त्रीले पुनः उम्मेद्वारी भएर भोट मागिरहदा ओख्रेनी, चिलाउने र मुलखर्क जस्ता गाउँका जनताको समस्या समाधान गर्न के कस्तो नीति, योजना बनाएर हिड्नुभएको छ ? यी आवाज गाउँलेहरुका हुन् ।
सुन्दरीजल हुँदै अन्य पर्यटकीय क्षेत्र रसुवाको गोसाईकुण्ठ, सिन्धुपाल्चोकको हेलम्बु , नुवाकोट र काभ्रेपाल्चोकको नगरकोट लगायत पर्यटकीय क्षेत्र जोड्ने पदमार्गमा राजस्व स्वरुप वृद्धि गराएपछि पर्यटक आउन पनि गाह्रो मानेका छन् । राजस्वलाई पनि सहजीकरण गराउन स्थानीय सरकार र सम्बन्धित पक्षसंग माग गरेका छन् ।