SamwadKhabar logo

               

संघीय खबर

मतदान केन्द्रमा हवाई गस्तीदेखि तीन घेराको सुरक्षा

संवाद खबर

संवाद खबर

मतदान केन्द्रमा हवाई गस्तीदेखि तीन घेराको सुरक्षा
मङ्सिर १, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अति संवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाई गस्तीको समेत प्रबन्ध गरिएको बताउनुभएको छ । मतदाताको अधिकार सुरक्षित गर्न आयोग प्रतिबद्ध छ भन्दै उहाँले भन्नुभयो, ‘‘मतदान केन्द्र कब्जा गरी जित्न खोज्नेलाई मतदाताले रोक्नुपर्छ, त्यस्ता व्यक्ति त बेइमान हुन् ।’’ बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यस्तै, निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको जानकारी दिनुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवम् विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्‍याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।’’   निर्वाचनको सम्पूर्ण तयारी पूरा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिनुभएको छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै हुनुहुन्छ । यसैगरी, १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नु हुनेछ । यो निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी, प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम छ । यसरी निर्वाचनमा प्रतिनिधि र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मतपत्र तीन करोड ९८ लाख १६ हजार पाँच सय र प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड चार लाख २१ हजार पाँच सय मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ । राष्ट्रय र अन्तर्राष्ट्रियबाट सात हजार २१९ पर्यवेक्षक परिचालन प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका लागि निर्वाचनसम्बन्धी काम कारबाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट सात हजार २०७ र दुईवटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना जरी सात हजार २१९ जनाले पर्यवेक्षण गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ । आयोगले हालसम्म करिब सात हजार पाँच सय जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ । यसैगरी, आयोगको निमन्त्रणामा भारत, भुटान, बङ्गलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको निर्वाचन व्यवस्थापन गर्ने निकायको टोली मतदानको दिनको अवलोकन गर्न आउनु हुने भएको छ । नेपालस्थित १८ वटा कूटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । दुई लाख ४७ कर्मचारी परिचालन आयोगले मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवम् आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका जनाएको छ । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिने लगायत विषयमा आवश्यक तयारी गर्नेछन् । त्यसैगरी, आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैङ्गिक समावेशी, अपाङ्गता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन आवश्यक निर्देशन दिइएको छ । निर्वाचन प्रचारप्रसार आज रातीबाट बन्द मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिस्क मन्थन लगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ । त्यसैगरी, यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन समेत नपाइने व्यवस्था छ । आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानुन बमोजिम कारवाही गर्न विशेष निर्देशन दिइएको छ । शनिबार सवारी चलाउन बाधा छैन उहाँले मङ्सिर ३ गते शनिबार सवारी सञ्चालन गर्न पाइने बताउनु भएको छ । काठमाडौं उपत्यका बाहिर जाने सार्वजनिक यातायातमा काम गर्ने कतिपय कर्मचारीले शुक्रबारसम्म मात्रै सवारी सञ्चालन हुने र शनिबार सवारी साधन नचल्ने भन्दै टिकट काटेको पाइयो भनी जिज्ञासा राखिएको थियो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘शनिबार सवारी चलाउन कसैले अनुमति नै लिनु पर्दैन, आइतबार बिहानैसम्म पनि चलाउन पाइयो ।’’ उहाँले पर्सा जिल्लामा भेटिएको मतपत्र आयोगको मतपत्रसँग मिल्दैन, कसैले आफ्नो प्रचारका लागि छपाइ गरिएको होला, आयोगबाट छापिएको मतपत्र मङ्सिर ४ गते मात्रै हेर्न पाइन्छ भन्नुभयो । आयोगले नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाएको छ । सुकुम्वासीहरूलाई मङ्सिर ४ गते नै हटाउने सूचना जारी भएको एक जिज्ञासामा उहाँले भन्नुभयो, ‘‘मतदातालाई असर पार्ने कुनै पनि कार्य हुनुहुँदैन, यदि असर पार्ने कार्य कोही कसैबाट भएमा कारबाही हुन्छ ।’’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…