– प्रेम थुलुङ
पछिल्लो केही वर्षयता विद्यालयमा स–साना कलीला नानीबाबुलाई सान्ता क्लज बनाइने गरिएको छ । जिंगल बेल बजाउँदै इसाई धुनमा नचाइँदै छ । क्रिसमसको दिन नजिकिएसँगै विद्यालयमा सान्ता क्लजको पोषाक लगाएर आउने होड चलाइन्छ । थप के–के सिकाइन्छ कुन्नी, तर कतिपय कलिला बालबालिका त घर आएर पनि आमाबाबुलाई प्लास्टिकको रूख राख्न, त्यसलाई सजाउन, त्यसमा झोला अथवा मोजा झुन्डाइदिन लाउँछन् । ती कालीला सन्ततिको मनमा अझ के अन्धविश्वास पनि बाँडिएको हुन्छ भने त्यस झोलामा २५ डिसेम्बर रति सान्ता क्लज आएर ती साना बालबलिकाले चाहेको, मनपराएको उपहार राखिदिनेछन् । घरमा राख्न नलगाए स्कुलमै यस्तो व्यवस्था पनि गरिइन्छ ।
स्कुलको क्रिसमस ट्रीमा उपहार कसले राख्छ त? सामान्यतः प्राइवेट बोर्डिङ स्कुल विद्यादानका लागिभन्दा पनि व्यवसायका लागि खोलिएको हुन्छ । विद्यालय सञ्चालन गर्ने प्रतिष्ठानलाई कम्पनीको रूपमा दर्ता गरिएको हुन्छ । अतः महँगा उपहार स्कुलले आफैं व्यवस्था गर्ने त कुरै भएन । अधिकांश प्राइवेट विद्यालयले त अभिभावकका नाममा आफै चिठी काटेर आफ्ना नानी–बाबुलाई ‘सान्ता क्लज’को पोषाकमा पठाइदिन आग्रहसम्म गरेको पाइएको छ । र, पत्राचारको भाषा त्यतिमै टुङ्गिदैन । त्यहाँ अभिभावकले विद्यालयलाई उपहार पनि उपलब्ध गराउन आग्रह गरिएको हुन्छ । अभिभावकले सुटुक्क दिएको त्यही उपहार क्रिसमसका दिन सान्ता क्लजले दिएको उपहार भनी बालबालिकालाई दिइन्छ । यसमा विद्यालयको कुनै लगानी हुँदैन, उल्टै अभिभावकलाई आर्थिक भार थप्दछ ।
चाहे घरमा होस् या स्कुलमा, जहाँ पनि अभिभावकलाई नै मार पर्ने न हो । तर यस्तो कार्यबाट के विश्वास दृढ़ पारिँदैछ भने सान्ता क्लज वास्तवमै आउँछ । ऊ कलीला नानीहरूलाई माया गर्ने सन्त हो । यसरी ऊ प्रिय बन्दै गएको छ । यसरी सान्ता वर्षेनी पर्खिइने पात्र बनाइँदैछ ।
यस्तो कार्य कसरी हुँदै छ त ? कसको इसारामा हुँदैछ?
- कि त हामी यति विचरा छौं कि हामीसँग मनाउन–योग्य चाडपर्वको खडेरी छ ।
- कि यति अवैज्ञानिक छ हाम्रो सोच कि निरन्तर अक्सिजन दिने पीपल र सबैभन्दा उपयोगी तुलसीको पूजन गर्ने शिक्षा दिनुको साटो प्लास्टिक, फाइबर इत्यादिबाट बनेको रूखको हामी सजावट र पूजन गर्न जायज ठान्छौँ । अझ विद्यालयबाटै यस्तो अवैज्ञानिक शिक्षा त्यो पनि प्रयोगपूर्वक दिइन्छ ।
- कि त हामीसँग सन्तहरूको पो खडेरी छ कि, जसको जीवन र आदर्शको शिक्षा दिनुभन्दा 'हुँदै नभएको सान्ता'लाई बालमष्तिष्कमा जीवन्त बनाउनतिर लागेका छौँ !
- अनभिज्ञता, अज्ञानताको सिकार बनेर यस्तो कार्यमा लाग्नु घातक नै भए पनि भिन्नै कुरो हो । तर अन्धविश्वासपूर्ण यस्ता पाखण्डी कार्य यदि कसैको इसारामा हुँदैछ भने त्यो षडयन्त्र हो । यस्ता क्रियाकलापद्वारा बालबलिकालाई विधर्मीको षड्यन्त्रको सिकार बनाइँदै त छैन ?
वास्तवमा न त हामी यति विपन्न छौँ कि हामीसँग मनाउनका लागि पर्वको खडेरी होस् ।
हामी संसारमै सबैभन्दा धेरै चाड–पर्व भएको सम्पन्न संस्कृतिका धनी हौँ । हाम्रो संस्कृति विज्ञानसम्मत छ, चाहे कालगणना अर्थात् समयको मापनको कुरामा होस् या वृक्ष–वनस्पतिको सेवाको सन्दर्भमा होस् ।
हामी पर्यावरण प्रेमी हौँ । प्रकृतिका रक्षक र पोषक हौँ । यसैले हामी वृक्ष–वनस्पतिलाई पूजा गछौँ ।
हामीसित सन्त–महापुरुषको अभाव पनि छैन । विश्व परिदृश्यमा सर्वोत्कृष्ट विचार दर्शनका प्रणेतादेखि लिएर महानतम मानवतासेवी आदर्श सन्तहरू, महापुरुष, वैज्ञानिक, विचारकहरू सनातन हिन्दू धर्मले जन्माएको छ ।
वास्तविक कुरो के हो भने हामी आफ्नो गौरवलाई हेर्न छोडेर विदेशी–विधर्मीको सिको गर्नतिर तम्सिएका हौँ । आफ्नो महानता र गुरुतालाई लत्याएर विदेशी अन्धविश्वासलाई मलजल गर्नतिर समर्पित भएका छौँ ।
कलीला बालबालिकालाई पनि स्वर्ग जाने भेडो बनाउन, यस्तै लहलहैमा कुबाटोतिर लगाउँदैछौँ । के यो विचारणीय छैन ?
गरिनु पर्ने के हो ?
स्कुल ‘इसाई–कूल’ होइन, गुरुकुल बनून् ।
बरु विद्यालयले तुलसी, पीपल, गाई जस्ता मानवोपयोगी, पर्यावरणका लागि उपयुक्त वस्तुबारे सम्यक जानकारी दिने क्रियाकलाप गराउँदा बेस हुन्थ्यो ।
स्वधर्म–संस्कृतिप्रति गर्व गर्न सकुन्, यस्तो शिक्षा आफ्नो धर्म–संस्कृतिबारे दिने कार्यक्रम ल्याए सबैतिरबाट स्वीकार्य हुनेथियो ।
योगशिक्षालाई पाठ्यक्रममा समावेश गरेर स्वस्थ र सुन्दर व्यक्तित्व निर्माणमा योगदान पुर्याउने कार्य गरे स्वदेशका निम्ति एउटा सार्थक योगदान हुनेथियो ।
यता ध्यान दिन छोडेर बालबालिकाका मुहारलाई सेता जुँगा र दारीले छपक्कै छोप्दै रातो टोपी र गाउनमा झिल्के बनाउने कार्य गर्दा कहाँबाट निर्मित हुन्छन् यहाँको माटोलाई माया गर्ने सन्तती ?
यसबारे समयमै ध्यान नदिए हामी मोक्षमार्गीलाई धर्मान्तरणकारीले स्वर्गसम्म जाने भेडोमा सीमित पार्न अवश्य सफल हुनेछन् ।
भाइ–भाइबीच फुट ल्याउने कार्य गर्ने, परिवार तोड्ने तत्वका हातबाट नेपालमा विद्वेष र विखण्डनको भयङ्कर खेल नहोला भन्न सकिन्न । यस्ता दाउपेचका लागि कदाचित स्कुललाई माध्यम बनाएर हाम्रा बालबालिकालाई हतियार त बनाइँदै छैन ? ध्यान जाओस् ।