संस्कृति मन्त्रीद्वारा जहरसिंपौवामा विश्व शान्ति छ्योर्तेन शिलान्यास
चैत २३, काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा विश्व शान्ती छ्योर्तेन शिलान्यास गरेका छन् ।
विहिबार भएको छ्योर्तेन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री किँरातिले आफू सधैं रैथाने र मौलिक संस्कृतिको पक्षमा रहेको बताउँदै गुम्बा, विहार, छ्योर्तेन जस्ता महत्वपूर्ण सम्पदाको संरक्षण र प्रर्वद्धन विशेष जोड दिने बताए । मौलिक धर्म, संस्कृतिले नेपालीपनलाई थप पहिचान गराउने बताउँदै मन्त्री किराँतीले विश्वसामु नेपाल र नेपालीको अस्तित्वबारे बुझाउन सम्पदाको संरक्षणका साथै प्रर्वद्धनमा विशेष जोड दिनुपर्ने बताए । त्यस्तै उनले आफू जनताको काम गर्नका लागि मन्त्री बनेको र जनतासंग प्रत्यक्ष सरोकार राख्ने कुरामा कहिल्यै नझुक्के समेत बताए । त्यसैगरी आफू मन्त्री भएपछि मन्त्रालयमा खादा र मालाको साट्टोमा दान पेटिका राखेको र केही समयमै ४ लाख भन्दा बढि रकम जम्मा भएको समेत बताए ।
कार्यक्रममा चैत्य निर्माणले शंखरापुर नगरपालिका र काठमाडौँकै पुरातात्त्विक महत्वका सम्पदा संरक्षण कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउने वडा नं ३ का पूर्व वडा अध्यक्ष सन्त बहादुर वाईबाले बताए । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयवाट करिव २५ लाख रुपैया बजेट बिनियोजन भएको सो चैत्यको निर्माणको काम आगामी २ बर्षमा सम्पन्न हुने निर्माण समितिका अध्यक्ष बासु वाईबाले बताए ।
कार्यक्रममा शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ, बौद्ध क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामा, शंखरापुर नगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा अन्य निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति थियो। नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले चैत्य निर्माण सङ्गै जहरसिंपौवाको पर्यटन बिकासमा टेवा पुग्ने बताएका थिए ।