विश्व शान्तिका लागि बुद्ध दर्शन र शान्तिको मार्ग सान्दर्भिक र महत्वपूर्ण
माघ १९, काठमाडौं । विश्वमा शान्ति स्थापना गर्न बौद्ध धर्म दर्शनले महत्वपूर्ण भूमिका निर्वाह हुनेमा जोड दिइएको छ । बिहिवार बौद्ध बहुमखी क्याम्पसले आयोजना गरेको उच्च शिक्षामा बौद्ध दर्शन र शान्ति अध्ययन संभावना र चुनौति विषयक गोलमेच अन्तर्क्रिया कार्यक्रममा वक्ताहरुले विश्व शान्तिको मुहान बुद्ध जन्मभूमी नेपाल भएकोले बुद्ध धर्म दर्शन नेपालीहरुले पनि व्यापक रुपमा अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
बुद्ध दर्शनले विश्वमा शान्तिको सन्देश छर्ने भएकोले विश्वमा बुद्ध धर्म दर्शन फैलाउन नेपालीले नेतृत्वदायी भूमिका खेल्न सक्नु पर्ने र बुद्ध दर्शन नेपालमा सहज र सुलभ रुपमा अध्ययन गर्ने वातावरण बनाउनु पर्नेमा वक्ताहरुले जोड दिनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै संविधान सभा सदस्य तथा पूर्व वागमति प्रदेशका मन्त्री रामेश्वर फुयालले बौद्ध धर्म दर्शनलाई विश्वका सबैतिर स्विकार गरिएकोले नेपालमा पनि बौद्ध दर्शन अध्ययन अध्यापनका लागि सरकारले विशेष व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बौद्ध बहुमखी क्याम्पसको विकासमा सबैले सहयोग गर्नु पर्ने समेत बताउनु भयो ।
पूर्व मन्त्री तथा अनुसन्धानकर्ता केशवमान शाक्यले विश्वमा बौद्ध दर्शनको सान्दर्भिकता बढेको बताउनु हुँदै बुद्ध धर्म दर्शनले विश्वमा शान्तिको सन्देश फैलाउने बताउनु भयो ।
जनजाति अभियन्ता तथा विश्लेषक सीताराम तामाङले राज्यले तिरस्कार गरेको कारण नेपालमा बौद्ध धर्मको विकास हुन नसकेकोमा जोड दिनु हुँदै नेपालमा बौद्ध धर्म दर्शन पढ्न नचाहने कोही नरहेको बताउनु भयो । उहाँले विश्वमा बौद्ध दर्शन फैलाउन नेपालीले नेतृत्वदायि भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।
अर्थविद् डा. रामराज उपाध्यायले नेपालले बुद्ध दर्शन र शान्तिको मार्गलाई अवलम्बन गरेर शान्ति र समृद्धिको दिशामा अगाडी बढ्नु पर्ने बताउनु भयो ।
बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले व्यवसायिक र कुटनीतिक रुपमा बौद्ध दर्शनको लाभ लिन नेपाल चुकेकोमा जोड दिनु हुँदै बौद्ध दर्शनको विकासमा प्रभावकारी कार्य गर्न राज्यलाई अगाडी बढाउन सबैले दबाब दिनु पर्ने बताउनु भयो । उहाँले विपश्यनाले आधुनिक जीवन शैलिले निम्त्याउने तनाव व्यवस्थापनमा समेत सहयोग गर्ने भएकोले बुद्ध दर्शन र बौद्ध ध्यान साधना पद्धती सिकाउन आवश्यक रहेको बताउनु भयो ।
आज बौद्ध महांकालस्थित बौद्ध बहुमखी क्याम्पसको हलमा आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष मनु हुमागाई, क्याम्पस प्रमुख मोहन खतिवडा, प्राध्यापक डा. विदुर चालिसे लगायतका उपस्थित व्यक्तित्वहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।