मिटरब्याज पीडितद्वारा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन
फागुन २७, काठमाडौं । मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन् । मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले लामो समयदेखि सरकारसँग वार्ता भइरहे पनि आफ्ना मागहरू सम्बोधन नभएपछि मिटरब्याज पीडितहरूले आइतवार ४१ औ दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका थिए ।
मिटरब्याजका कारण आफ्नो घरबास नै उठेको बताउने ती पीडितको माग सम्बोधनका लागि वार्ता टोलीसमेत गठन भएको छ। टोलीका संयोजक अवधेश कुशवाहको संयोजकत्वमा गठन भएको टोलीले पटक-पटक सरकारी टोलीसँग वार्ता समेत गरेको छ। तर सत्ता समीकरणमा आएको फेरवदलका कारण उनीहरूको माग सम्बोधनका लागि भइरहेको वार्ता पनि प्रभावित भएको छ।
यसअघिका वार्ता पनि निष्कर्षविहीन भएको र अब हुनुपर्ने वार्ता पनि प्रभावित भएपछि पीडितहरूले नयाँ तरिकाबारे सरकारप्रति सांकेतिक विरोध प्रदर्शनका कार्यक्रम गरेका हुन्।
यसअघि यही फागुन २३ गते प्रदर्शन गर्नेक्रममा वार्ता टोलीका संयोजक कुशवाहसहित करिब २५ जनाको पीडित टोलीलाई प्रहरीले पक्राउसमेत गरेको थियो ।