फागुन १७, काठमाडौं । योगी नरहरिनाथ (१९७१–२०५९) नेपालका एक अध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ। देश एवं विदेशका धेरै ऎतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण गरेर उहाँले अध्ययन अनुसन्धान गर्नु भएको छ ।
त्यस बाहेक उहाँ एक कुशल साहित्य सर्जक हुनुहुन्थ्यो । सिद्धहस्त आषु कविका रूपमा पनि परिचित उनी नेपालका आध्यात्मिक व्यक्तिहरूमध्ये एक हुनुहुन्थ्यो । संस्कृत हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका केही कृतिहरू (योगी नरहरिनाथ स्मृतिग्रन्थ, २०६८ – १३५० प्रकाशित छन् भने धेरैजसो अप्रकाशित रहेका छन्। घण्टौंसम्म कवितामय संस्कृतमा धाराप्रवाह प्रवचन गर्ने योगीका निमित्त बसेर कविता लेख्नु सामान्य कुरा थियो।
योगी नरहरिनाथ आजीवन परोपकाररत रहेको पाइन्छ। जीवनको अन्तिम घडीसम्म इतिहास, पुरातत्त्व, संस्कृति विषयक अन्वेषणमा लागेर परोपकारको पथ प्रदर्शन गर्ने योगीका एकएक क्रियाकलापबाट अनेक अनेक शिक्षा प्राप्त गर्न सकिनछ। यावत् क्रियाकलापमा अन्वेषणात्मक मानसिकता बोकेका योगीका काव्यहरू पनि अन्वेषणात्मक नै छन्। शिखरिणी यात्राभित्रका २३७ वटा कविता सबैमा अन्वेषणात्मकता पाइने हुनाले यसलाई अन्वेषणात्मक यात्रा–काव्य भन्नु समीचीन ठहर्छ।
योगीका कवितामा राष्ट्रियताको ज्वलन्त उद्घोष पाइन्छ। नेपालको इतिहास, भुगोल, पुराण, पुरातत्त्व, धर्म, दर्शन, जनजीवन, पशुपन्छी, वनस्पति, पर्यटकीय स्थानविशेष जस्ता राष्ट्रियताका प्रमुख पक्षलाई कवितामा यत्रतत्र उठाइएको पाइन्छ।