प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशी तिथिलाई शिवरात्रि भनिन्छ । वैदिक धर्मानुयायीले अनुशरण गर्ने पञ्चाङ्गमा कृष्णपक्षको चतुर्दशी तिथिलाई शिवरात्रि नै उल्लेख गरिएको हुन्छ । तर, फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि अति विशिष्ट छ । यस तिथिलाई महाशिवरात्रि भनिन्छ । भगवान् शिवको अतिशय प्रिय रात्रि, शिव तत्त्वसँग घनिष्ठ सम्बन्ध भएको रात्रि हो महाशिवरात्रि । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमाको कीर्तन यस पर्वको विशेषता हो । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ । शिवमहापुराणको कोटिरुद्र संहितामा शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुने बताइएको छ ।
ईशानसंहितामा भनिएको छ –
‘शिवलिङ्गयतोद्भूतः कोटिसूर्यसमप्रभः’ । फाल्गुन कृष्ण चतुर्दशीको रात्रि समयमा आदिदेव भगवान् शिव करोडौँ सूर्यहरू समान प्रभा भएको ज्योतिर्मय लिङ्गका रूपमा प्रकट हुनुभएको थियो । ज्योतिषशास्त्र अनुसार यस तिथिमा चन्द्र समीप हुन्छ सूर्यको । अतः जीवरूपी चन्द्रको शिवरूपी सूर्यका साथ योग हुने यस पावन तिथिमा शिवपूजाको विशेष महत्व रहेको बताइएको छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् ।
महाशिवरात्रि परमात्मा शिवको अवतरणको मङ्गलसूचक दिवस हो । निराकारबाट साकार रूपमा अवतरणको रात्रि हो महाशिवरात्रि । त्यस्तै शिव–शक्ति मिलनको— हिमालयपुत्री पार्वती र कैलाशवासी शिवको मङ्गल परिणयको पावन दिवस पनि हो यो ।
शिवरात्रिमा चार प्रहरको पूजाको विधान छ । चार प्रहरमा चार पटक पञ्चामृत स्नान गराएर, चन्दन, पुष्प, अक्षत, वस्त्र आदिले श्रृङ्गार गरेर आरती गर्नुपर्ने विधान रहेको छ । रात्रिभरि जागरण तथा ‘ॐ नमः शिवाय’ अथवा ‘शिवाय नमः’ मन्त्रको जाप, रूद्राभिषेक, रूद्राष्टाध्यायीको पाठ गर्नु उपयुक्त मानिन्छ ।
शिवरात्रि पर्वको सन्देश
शिव स्वयं अर्धनारीश्वर भएर पनि कामविजेता हुनुहुन्छ, गृहस्थ भएर पनि परम् विरक्त, हलाहल पान गरेर नीलकण्ठ भइकन पनि विषबाट अलिप्त, ऋद्धि—सिद्धहरूको स्वामी भएर पनि तीबाट विलग, उग्र भएर पनि सौम्य, अकिञ्चन भएर पनि सर्वेश्वर हुनुहुन्छ । भयंकर नाग र सौम्य चन्द्रमा दुवै उहाँका आभूषण हुन् । निधारमा प्रलयकालीन अग्नि र सिरमा परम शीतल गङ्गा उहाँको अनुपम श्रृङ्गार हुन् । वृषभ र सिंह तथा मयूर, मूसो र सर्प सहजै वैरभाव बिर्सिएर साथ—साथ क्रिडा गर्दै बस्ने उहाँको परिवारले समस्त विरोधी भावहरूलाई पनि विलक्षण समन्वयको शिक्षा दिइरहेको पाइन्छ । सह—अस्तित्व अपनाउनु भन्ने महान् सन्देश निहित छ यस शिक्षामा । उहाँको प्रतीक श्रीविग्रह — शिवलिङ्ग ब्रह्माण्ड एवं निराकार ब्रह्मको प्रतीक हुनाले सबैका लागि पूजनीय छ ।
शिवो भुत्वा शिवं यजेत्
भनिन्छ, ‘शिवो भुत्वा शिवं यजेत्’, अर्थात् शिवको पूजन शिव बनेर नै गर्नु ।
‘शिव’को अर्थ हुन्छ कल्याणकारी । शिव स्वयं कल्याणकारी नै हुनुहुन्छ । यसर्थ जीवले काम, क्रोध, लोभ, मोह आदि विजातीय तत्त्वबाट मुक्त रही परम् सुख, शान्ति र ऐश्वर्य प्राप्त गर्न प्रेरित गर्ने कल्याणकारी मार्गको अवलम्बन गर्नु नै वास्तविक शिवपूजा हो । कालकूट विषलाई कण्ठमा धारण गर्ने कल्याणकारी शिवबाट कल्याण पथमा अग्रसर भई समाज कल्याणको महान कार्यमा प्रवृत्त हुने प्रेरणा लिनु हामी सबैका लागि आवश्यक छ । यसैबाट सार्थक हुन सक्छ हाम्रो शिव अर्चन ।
- विजय भास्कर मिश्र