दशैँका लागि ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन
असोज १, काठमाडौं । सरकारले देशभर दशैं, तिहार र छठ पर्व अवसर पारी आमउपभोक्तालाई लक्षित गरी आजबाट ३९ स्थानमा सुपथमूल्य पसल सञ्चालन गरेको छ ।
शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुनको लागि मात्रै कोटा तोकिएको छ । एक व्यक्तिले ६ किलो नुन र २ किलो मात्रै चिनी किन्न पाउने छन् भने अन्य वस्तु चाहेजति खरिद गर्न सकिने छ ।सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।
खाद्य र साल्टको दुवै पसलहरुमा नुन प्रतिकिलोमा दुई रुपैयाँ, चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाइने छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा अन्य पसलमा भन्दा कम मूल्यमा किन्न पाइनेछ। घटस्थापनको दिनबाट बिक्री सुरु हुने जिउँदो खसी बोकाको बिक्रीमा भने प्रतिकिलोमा १० रुपैयाँ सहुलियत पाइने सूचना अधिकारी न्यौपानेले बताइन् ।
मन्त्रालयका सहसचिव रायणप्रसाद रेग्मीका अनुसार सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी)सहितको सहभागितामा काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा सुपथ मूल्य पसल सञ्चालन गरेका छन् ।
काठमाडौंं उपत्यकामा खाद्य व्यवस्था र साल्टको गरेर घुम्ती सेवासहित १३ वटा पसल सञ्चालनमा आउने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत रहनेगरी थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक भक्तपुरमा चार वटा बिक्री केन्द्र हुनेछन् ।
यस्तै साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय कालीमाटीमा २, कोटेश्वर, सतुंगल, जाउलाखेल र भक्तपुरमा गरेर ६ वटा सहुलियत पसल सञ्चालनमा आएका छन् ।
खाद्य कम्पनी अन्तर्गतको ३९ र साल्टको २६ वटा थप सहुलियत पसलहरु भने काठमाडौं उपत्यका बाहिर छन् । खाद्य अन्तर्गतका पसलहरु ३९ र साल्टले २४ जिल्लामा आफ्नो केन्द्रबाट सहुलियतको खाद्यान्न बिक्री गर्ने छन् ।