नारायणहिटीको श्रीपेच चोर्न प्रयास गरेका युवक पक्राउ
असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न प्रयास गरेका रुकुम पश्चिमका एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् । शुक्रबार संग्रहालय घुम्न छिरेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो ।
टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ ।
घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । घर्तीको मानसिक स्थिति ठिक नभएको शंका गरिएको छ ।