१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको छ ।
युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनु भएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।
मानिसले आँटेर लागिपरे कठिन काम पनि सहजै सम्पादन हुन्छन् । यसैको युवाकवि मोतीराम दृष्टान्त हुनुहुन्छ । भानुभक्तले साहित्यको राम्रो जग लगाए भने गारो हाल्ने काम उहाँले गर्नुभएको हो । अनि पछि आउने साहित्य साधकहरूले त्यसलाई पूरा गर्ने र तला थप्ने काम गरे ।
छ वर्षको बालक छँदा वि. सं. १९२८ मा काशी गएर त्यहीँ फारसी स्कुलमा भर्ना भएर पढ्न थाल्नुभयो । उहाँ सानैदेखि होनहार हुनुहुन्थ्यो । मोतीराम नेपाल फर्किनुभयो । यसै बेला वि. संं. १९३७ मा उहाँको बिहे भयो । मोतीरामामा साहित्यिक प्रेमको मुना पलाउँदै थियो । भानुभक्तले नेपाली भाषामा अति राम्रो र रसिलो रामायण लेखेको कुरा उहाँले थाहा पाएपछि उहाँमा आफ्नो देश, भाषा र साहित्यमाथि झन् माया जागेर आयो ।उहाँ खुसी र उदेकले चौपट्टै रमाउनुभयो । त्यसपछि उहाँले भानुभक्तको रामायण प्रकाशनमा ल्याउन संकल्प गर्नुभयो ।
वि. सं. १९३८ मा मोतीराम फेरि काशी जानुभयो । काशीमा बस्दा हिन्दी साहित्यको उत्थानमा डटेका भारतेन्दु हरिश्चन्द्रको मण्डलीसित बस-उठ हुन्थ्यो । त्यसबाट पनि उहाँलाई साहित्यसेवामा ठुलो हौसला मिल्यो । काशीमा मोतीरामले आफ्ना सहपाठी साथीहरूसित मिली कविता रच्ने र पढ्ने गर्न थाल्नुभयो । यसै बेला उहाँले सर्वप्रथम आफ्नो कविताको पुस्तक ‘मनोद्वेगप्रवाह’ प्रकाशित गर्नुभयो । आफ्ना साथी रामकृष्ण वर्माको सहयोगमा ‘भारत जीवन’ नामको छापाखाना खोलेर त्यसको व्यवस्थापक पनि हुनुभयो । त्यहाँबाट मोतीरामले भानुभक्तको बालकाण्ड र त्यसपछि सम्पूर्ण रामायण छपाएर प्रचार गरिदिनुभयो ।
वि. सं. १९४४ मा मोतीराम फेरि नेपाल फर्किनुभयो । नेपाल आएपछि उहाँले संस्कृत र अङ्ग्रेजी विषयमा अध्ययन गरेर वि. सं. १९४७ देखि दरबार स्कुलमा पढ्न थाल्नुभयो । वि. सं. १९४८ मा उहाँले कलकत्ता गई प्रवेशिका पास गर्नुभयो । पछि वि. सं. १९५० मा कलाकत्ताबाटै एम. ए. परीक्षा दिँदा बिग्रियो र १९५२ मा फेरि जाँच दिने अठोट गरी कलकत्ता जानुभएको थियो । तर उहाँ बिरामी परेकाले काठमाडौँ फर्केर सात महिनासम्म ओछ्यान परेपछि फेरि उठ्न सक्नुभएन । उहाँको प्रयास अपूर्ण नै रह्यो । उहाँ नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, फारसी, अङ्गे्रजी आदि भाषा पोख्त हुनुहुन्थ्यो । कति भाषामा त रचना पनि गर्नुभयो । उहाँको व्यक्तिगत जीवन पनि शान्त, गुनिलो, जेहेनदार र परिश्रमी थियो ।
मोतीराम प्रतिभाशाली कवि, फटाफट कविता लेख्न सक्ने आशु कवि हुनुहुन्थ्यो । समस्यापूर्ति कविता लेखनमा यिनी दत्तचित्त थिए । उहाँ कविहरूको मण्डलीमा साहित्यिक चर्चा र छलफल गर्नुहुन्थ्यो । कृष्णदेव पाण्डेसित मिलेर वि. सं. १९४५ मा ठहिटीमा ‘मोतीकृष्ण’ नामको पुस्तकालय पनि युवाकवि मोतिरामले खोल्नुभएको थियो । ‘पाशुपत’ नामको छापाखाना पनि त्यस समय निकै प्रसिद्ध थियो ।
मोतीरामले पच्चीसौँ ग्रन्थ लेख्नुभएको छ, तीमध्ये केही कृतिहरु;
कविता: मनोद्वेगप्रवाह, गजेन्द्रमोक्ष, प्रल्हादभक्ति कथा, उषाचरित्र, पिकदूत, पञ्चकप्रपञ्च र तिजको कथा, भ्रमरगीत, नीतिदर्पण आदि र थुप्रै फुटकर कविता तथा गजलहरू
नाटक: शकुन्तला, प्रियदर्शिका ।
जीवनी: कवि भानुभक्ताचार्यको जीवन चरित्र
मोतीरामले नेपाली साहित्यमा कविता, जीवनी मात्र होइन नाटक पनि, गीतिकविताहरू पनि लेख्नुभएको छ । मोतीरामको शैली राम्रो, अभिव्यक्ति प्रस्ट र रचना सजिला तथा बुझिने छन् । उहाँको रचनामा श्रृङ्गार रस मुख्य रुपमा पाइन्छ । रचनामा मातृभूमिको प्रेम पनि छचल्किएको हुन्छ । यसको पुष्टिमा तलको पङ्क्ति अघि सार्न सकिन्छ ।
अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यवन्ले राज् गर्दा कति पतित हिन्दुस्थल भयो
फगत् यो नेपाल्को मुलुक बचि कंचन् रहिगयो
उहाँले भानुभक्तको रामायण प्रचार नगर्नुभएको भए र भानुभक्तलाई चिनाउन उहाँले नसकेको भए शायद भानुभक्त कति समयसम्म अदृश्य रहने थिए सोच्नुपर्ने कुरो छ । मोतीराम भट्ट नेपाली साहित्यमा साँँच्चै मोतीको माला भएर आउनुभयो । उहाँ भौतिक रुपमा नरहे पनि उहाँको अमर कृतिले अमर हुनुहुन्छ । - संवाद खबर