२४ भाद्र, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा जनप्रिय जननेताको रुपमा परिचित हुनुहुन्छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाको डेढ दर्जन कृति प्रकाशित छन् ।सुम्निमा, तीनघुम्ती, मोदिआइन तथा हिटलर र यहुदीजस्ता औपन्यासिक कृृति तथा जेलजर्नल आत्मवृत्तान्तलगायत उहाँका कीर्तिहरूले राजनीतिक वैचारिकताको आत्मबोध, यौन मनोविज्ञानको विश्लेषण तथा सामाजिक रूपान्तरण र मनोसामाजिक सांस्कृतिक द्वन्द्वलाई वैचारिक धरातलमा सटिक प्रस्तुति गरेको पाइन्छ ।
दूरदर्शी राजनेता बिपी कोइराला राष्ट्रवादी समाजवादी चिन्तकका रूपमा राजनीतिकवृत्तमा स्थापित नाम हो । विश्व राजनीतिक परिवेशलाई अत्यन्त सूक्ष्मतम् दृष्टिकोणसम्म पुगेर विश्लेषण गर्न सक्ने र त्यसको सान्दर्भिकतालाई नेपालको भू–राजनीतिक धरातलमा विविध आयामसहित स्पष्ट प्रयोग गर्ने खुबी भएको नेताका रूपमा बिपी कोइरालालाई लिन सकिन्छ ।
पिता कृष्णप्रसाद कोइराला र उहाँको कान्छी श्रीमती दिव्य कोइरालाको जेठो सन्तानको रुपमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको हो । जहानियाँ राणा शासनको विरोधमा उहाँको पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनपछि त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएको कारणले विश्वेश्वरप्रसाद र उहाँको दाई मातृकाप्रसाद कोइरालालाई वि.सं १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो। यसपछि नै उहाँको राजनीतिक जीवनको सुरुवात भएको हो ।
वि.सं १९८८ मा उहाँले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गर्नुभएको थियो। त्यसपछि बनारस हिन्दु विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गर्नुभयो । अध्ययन पूरा गरेपछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानून व्यवसाय काम गर्नुभयो । दोस्रो विश्वयुद्धको समयमा उहाँलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरिएको थियो। त्यहाँबाट छुटेपछि उहाँले वि.सं २००३ मा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गर्नुभयो ।
वि.सं. २००४ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उहाँलाई नेपाल सरकारले एक वर्ष कैद गरियो । सन् १९५१ मा उहाँले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरू गर्नुभयो । २००७ सालमा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो। त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बन्नुभयो ।
वि.सं. २०१५ मा भएको पहिलो आम निर्वाचनमा उहाँको दल नेपाली कांग्रेसले विजयी भएपछि उहाँले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नुभयो । बिपीले आफ्नो प्रजातान्त्रिक सरकारको नेतृत्वका समयमा कुशल परराष्ट्र नीति अवलम्बन गर्नुभएको थियो । उहाँको कार्यकालमा देशले असंलग्न परराष्ट्र नीतिलाई निर्देशक सिद्धान्तका रूपमा लियो । जसको फलस्वरूप नेपालले दुई ठूला छिमेकी भारत तथा चीनलगायतका विश्वका सबै मित्रराष्ट्रहरूसँग यसै नीतिका आधारमा कुटनीतिक सम्बन्ध स्थापना र विस्तार गर्न सकियो । उहाँको सरकार १८ महिना मात्र रह्यो । वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरिदिनुभयो । त्यसपछि उहाँलाई कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखियो।
वि.सं. २०२५ सालमा उहाँलाई बनारस निर्वासनमा जान दिइयो । वि.सं. २०३३ सालमा उहाँ नेपाल फर्कनुभयो । तर तत्कालीन नेपाल सरकारले उहाँलाई देशद्रोहको अभियोगमा जेलमा राखियो। अन्तर्राष्ट्रिय दबावका कारण १९३५ मा उहाँको विरूद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । वि.सं. २०३६ सालको आन्दोलनका बेला उहाँलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो ।
प्रजातान्त्रिक समाजवादलाई आदर्श बनाउनुभएको नेपालका २२ औं प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपीको वि.सं.२०३९ साल साउन ६ गते क्यान्सर रोगका कारण उहाँको निधन भएको थियो।
बिपी आफू प्रधानमन्त्री हुँदा योजना आयोगमा किसानले हलो जोतेको तस्बिर राखेर योजना बनाउन निर्देशन दिने उदारवादी र आदर्श राजनीतिज्ञ हुनुहुन्छ । बीपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बीपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले आज बीपी सङ्ग्रहालय सुन्दरीजलमा कार्यक्रम आयोजना गरेको छ ।