SamwadKhabar logo

               

कला / साहित्य

माघ शुक्ल तृतीया : शिवपुरी बाबाको समाधि दिवस

संवाद खबर

संवाद खबर

माघ शुक्ल तृतीया : शिवपुरी बाबाको समाधि दिवस
आज, माघ शुक्ल तृतीया । यो दिन नेपाली माटोलाई आफ्नो आध्यात्मिक ऊर्जाले आलोकित पार्नुहुने महान् विभूति श्रीशिवपुरी बाबाको समाधि दिवस हो । शिवपुरी बाबा नामले विश्वमाझ नै परिचित हुन पुगेका यी महान् विभूतिको जन्म चाहिँ भारतको केरला राज्यमा सन् १८२६ अर्थात् वि.सं. १८८२ भदौ महिनाको मूल नक्षत्रमा भएको हो । जन्मनासाथ यिनी मुस्कुराएकाले प्रख्यात ज्योतिषी यिनका हजुरबाले भविष्यमा महान् साधु हुने तथा यिनबाट वंशसमाप्ति हुने भविष्यवाणी गरेका थिए भनेर विद्वान्हरूले उल्लेख गरेका छन् । आफ्नो जीवनको अन्तिम उत्तरार्धमा काठमाडौँको उत्तरतिर अवस्थित शिवपुरी पर्वतका काखमा आश्रम बनाएर बसेका कारण शिवपुरी बाबाका रूपमा प्रख्यात हुन पुगेका यी महान् सन्तको नाम दीक्षापछि प्राप्त नाम स्वामी गोविन्दानन्द भारती हो । सन् १८७५ देखि सन् १९१५ सम्म बाबाले विश्व भ्रमण गरेका थिए । अफगानिस्तान, साउदी अरेबिया, इरान, टर्की, रोम, ग्रीस, रुस, बेलायत, स्कटल्यान्ड, जापान, मेक्सिको, चिन आदि देश पुगे । पृथ्वीको अधिकांश भागमा पाउ राखेका बाबाले आफू पुगेका ठाउँमा स्वधर्मको उपदेश गरे । व्यक्तिको धारणा, उसले अपनाएको संस्कृति, उसमा विकास भएको जीवन र जगत्सम्बन्धी दृष्टिकोणका साथै उसले अवलम्बन गरिरहेको धर्म, विचार वा सिद्धान्तका विषयलाई नै उदाहरणका रूपमा प्रस्तुत गरेर बाबा उपदेश दिने गर्दथे । ७० वर्षपछि घर हेर्न केरला पुगेका बाबाले अत्यधिक परिवर्तनका कारण आफ्नो घर ठम्याउन नसकेको कुरा विद्वान्हरूले उल्लेख गरेका छन् । शिवपुरी बाबामा अद्भुत नेपालप्रेम थियो । वि.सं. १९०३ मा आफ्ना हजुरबासँग पहिलोपटक वाग्मतीको किनारैकिनार काठमाडौँ उपत्यका आई पशुपतिनाथको दर्शन गर्न पुगेका उनी कोतपर्वको समय भएकाले हातहतियारले सुसज्जित सैन्यसमूहलाई उपत्यकाभित्र बढी सक्रिय देखेका कारण तत्काललाई यहाँ बस्नु सुरक्षित नभएको आकलन गरी फर्किएका थिए तर पछि सय वर्षको उमेरमा मानसरोवर हुँदै नेपाल प्रवेश गरी नेपालमै बस्ने अठोट उनले गरेका थिए । त्यतिखेर शिवरात्रिका अवसरमा भारतबाट नेपाल आएका साधुहरूलाई एक हप्तासम्म मात्र बस्ने अनुमति दिइएको हुन्थ्यो । फर्कने बेला आएको कुरा बाबालाई पनि सूचित गरियो । फर्कन लाग्दा बग्गीमा सवार विल्किन्सनले बोलाएर सोधे, “तपाईँ गोविन्दानन्द होइन ?” महारानी भिक्टोरियाको राज्यकालमा बेलायत पुगी १८ पटकसम्म महारानीलाई भेटेका बाबाले २० वर्षअगाडि विद्यार्थीकालमा त्यहीँ विल्किन्सनलाई पनि भेटेका थिए र उनी नेपालका लागि कूटनीतिक प्रतिनिधि अर्थात् राजदूतका रूपमा नियुक्त थिए । बाबालाई चिन्न समस्या भएन । विल्किन्सनको अनुरोध तथा बाबाको इच्छाअनुसार बाबा नेपालमा बस्ने भए । विल्किन्सन आफ्नो कार्यकालभरि प्रत्येक आइतबार बाबाको सेवामा हाजिर हुन्थे । केही समय पशुपतिको राजराजेश्वरी सत्तल बसेका बाबा किरातेश्वरमा कुटी बनाई बसे भने केही समय गोकर्णेश्वरको जङ्गलमा पनि बसेका थिए । नेपालका पहाड, गुफा, वनजङ्गल आदिमा अझै पनि कतिपय साधकहरू साधना गरेर बसिरहेका छन् भन्ने कुरा बाबा बताउने गर्थे । पछि भने शिवपुरीमा आई बसेकाले उनी गोविन्दानन्द भारतीबाट नेपाली जनमानसमा शिवपुरी बाबाका रूपमा परिचित छन् । स्वधर्म बाबाको शिक्षा हो । यसअन्तर्गत शारीरिक, नैतिक तथा आध्यात्मिक गरी तीन किसिमको अनुशासनको पालनामा बाबाले जोड दिएको पाइन्छ । जसले शरीर, मन र आत्मसम्बन्धी विषयलाई लक्षित गर्दछन् । कुनै पनि कार्य गर्नका लागि वा कुनै पनि विषयको चिन्तनका लागि शरीरको सबलता अनिवार्य हुन्छ । नैतिक बलले काममा प्रोत्साहन मिल्छ भने अध्यात्म मुक्तिको बाटो हो । दुःखको आत्यन्तिक निवृत्ति र परमानन्दको प्राप्ति नै मुक्ति हो । सांसारिक चक्र वा जन्म र मृत्युको चक्रमा जबसम्म फसिएको हुन्छ तबसम्म दुःखले छोड्दैन । तसर्थ भौतिकतालाई अनित्य मान्दै अध्यात्ममा लाग्न बाबा सबैलाई उत्प्रेरित गर्दथे । बाबाले मन्त्रदीक्षा भने कसैलाई दिएको देखिँदैन । बाबालाई भेट्न मुमुक्षु मात्र नभई धेरै किसिमका मान्छे आउने गर्दथे । वैद्य, डाक्टर, लेखक, नेतालगायतका व्यक्तिहरू बाबाको उपदेश ग्रहण गर्न आइपुग्थे । राजा महेन्द्रको राज्याभिषेक समारोहमा आएका तत्कालीन भारतीय उपराष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन् राजकीय अतिथिगृह नगई पहिला बाबालाई भेट्न पुगेका थिए । यस्ता तपस्वी आत्मज्ञानी बाबा वि.सं. २०१९ माघ १५ गते, (सन् १९६३ जनवरी २८) अर्थात् माघ शुक्ल पक्ष तृतीयाका दिन ब्रह्मलीन भए । स्थलसमाधिको विधिअनुसार देहलाई जमिनमा राखी माथि शिवलिङ्ग निर्माण गरियो । पशुपतिको निकटवर्ती जङ्गलमा अहिले पनि बाबाको समाधिस्थलको दर्शन गर्न बाबालाई चिन्ने श्रद्धालुहरू जाने गर्दछन् । वैदिक तथा पौराणिक सन्दर्भले नेपाललाई तपोभूमिका रूपमा चिनाउने काम गरेकै छन् । पछिल्लो समयमा पनि नेपालमै जन्म भई नेपाली धराधाममा नै उपदेश गरेर जीवन बिताउने सन्तहरू धेरै छन् । यसका साथै भारत तथा अन्य विदेशी देशमा जन्म भए तापनि नेपालमा आई आफ्ना आदर्श तपस्वी जीवन तथा वचनामृतले नेपाली धर्तीलाई अभिषिक्त गर्दै अध्यात्मको पुष्प फुलाउने महान् सन्तहरूको पनि सङ्ख्या ठुलो रहेको छ । त्यस्ता सन्तहरूमध्ये शिवपुरी बाबाको नाम अग्रपङ्क्तिमा लिने गरिन्छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…