कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पशुपति शिक्षा मन्दिरको प्राङ्गण । प्राङ्गणमा निर्मित यज्ञवेदीमा प्रज्ज्वलित अग्नि । त्यसवरिपरि स्थानीय व्यक्तित्वका साथै देशभरिबाट आएका युवाहरूको उपस्थिति । वैदिक मन्त्रहरूको उच्चारणका साथ प्रखर अग्निमा आहुति अर्पण । यो दृश्य कुनै महायज्ञको होइन, तर उपस्थित हवनकर्ता, आयोजकहरू यसलाई ‘महायज्ञ’ नै बताउँछन् ।
वैदिक मन्त्रहरूका साथै ‘राष्ट्राय स्वाहा, इदं राष्ट्राय, इदं न ममः’ उच्चारण गर्दै यहाँ उपस्थित युवाहरूको जमातले आफूलाई समाज र राष्ट्रको सेवारूपी यज्ञकुण्डमा समिधा र आहुतिका रूपमा अर्पित भएको बताउँछन् । हुन पनि कञ्चनपुरमा, जहाँको तापक्रम यस मध्य गर्मीमा ३३ डिग्रीको हाराहारी छ, यी युवा आफ्नो घरको सुख शयल छोडेर जुटेका हुन् शिक्षा वर्गका लागि । संघ शिक्षा वर्ग भनिने यसै कार्यक्रमको शुभारम्भमा अग्नि र ईश्वर, अनि अँ, प्रखर सूर्यलाई साक्षी राख्दै आज उद्घाटन भएको छ । वर्गको आयोजक हो हिन्दू स्वयंसेवक संघ नेपाल ।
वर्गको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस सत्रका प्रमुख वक्ता संघका राष्ट्रिय प्रचारक श्री वेदप्रकाशजीले वर्गको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो, ‘देशका विभिन्न ठाउँबाट स्वयंसेवकहरू यहाँ विशिष्ट उद्देश्यका साथ उपस्थित हुनुभएको छ । उद्देश्य हो, राष्ट्र निर्माण, मानव कल्याण जस्ता उदात्त कार्यका लागि आफूलाई योग्य व्यक्तिका रूपमा निर्माण गर्नु ।’
कुनै पनि कार्य गर्नका लागि योग्य व्यक्तिहरूको आवश्यकता पर्दछ । योग्य व्यक्तिहरूले संगठित भएर कार्य गरेमा कार्य सहज, सुन्दर र सफल हुनेमा दुई मत हुँदैन । यही तथ्य संघका राष्ट्रिय प्रचारकले वर्गका आरम्भमा व्यक्त गर्नुभयो । कलियुगमा संगठन नै सर्वश्रेष्ठ शक्ति भएको बताउँदै उहाँले विश्व कल्याणको कामना गर्ने हिन्दू संस्कृतिका संवाहक संगठित हुनुपर्नेमा जोड़ दिनुभयो।
उद्घाटन सत्रसँगै वर्ग सञ्चालनका लागि केही मुख्य दायित्वहरू पनि घोषणा भएको थियो । जसअनुसार, वर्गका माननीय वर्गाधिकारी श्री गणेश बिष्ट हुनुहुन्छ भने वर्गकार्यवाह श्री हरकेश बिष्ट, पालक अधिकारी श्री देवी भारती तथा मुख्य शिक्षक श्री कपिल भट्ट रहनुभएको छ ।
संघ शिक्षा वर्ग हिन्दू स्वयंसेवक संघ नेपालको नियमित वार्षिक कार्यक्रम हो । संघले प्रत्येक वर्ष जेठ महिनामा युवाहरूका लागि २० दिने वर्गको आयोजना गर्ने गरेको छ । बीस दिनको यो आवासीय वर्गमा उपस्थित युवा स्वयंसेवकहरू समाज र राष्ट्रका लागि योग्य कार्यकर्ताका रूपमा विकसित हुन साधना गर्दछन् । पूर्णतः अनुशासित वातावरणमा यस वर्गमा शारीरिक, बौद्धिक र मानसिक कार्यक्रमहरूको अभ्यास गराइन्छ ।
शारिरिक प्रशिक्षण अन्तर्गत योगासन, सूर्यनमस्कार, विभिन्न प्रकारका व्यायाम, नियुद्ध कला आदि रहेका हुन्छन् । आफू स्वस्थ रहेर नै समाजका लागि योग्य सपूत बन्न सकिन्छ भन्ने भाव जागृत हुन्छ ।
त्यस्तै, बौद्धिक प्रशिक्षणमा गीत, सुभाषित, समाज, राष्ट्र, धर्म, संस्कृति, संस्कार आदि विभिन्न विषयमा प्रवचन, चर्चा इत्यादि हुने गर्दछ । आफ्नो गौरवशाली सांस्कृतिक स्वत्वको बोध नभएसम्म त्यस संस्कृतिका लागि कसैले किन पो केही गरौँ भनेर अघि सरोस् । बौद्धिक सत्रबाट स्वयंसेवकहरूले एउटा गौरवशाली संस्कृतिको घटकका रूपमा आफ्नो परिचय प्राप्त गर्दछन् । कार्यकर्ताको भाव जागृत हुन्छ ।
विविध भौगोलिक, भाषिक, जातीय, सांस्कृतिक पृष्ठभूमिबाट आएका स्वयंसेवकहरू यहाँ कुनै भेदभावबिना ‘संगच्छध्वं संवदध्वं’ भन्दै सामूहिकतामा रामाउँछन् । सँगै बसेर भोजन गर्छन् । सँगै मनोरञ्जनात्मक खेलहरू खेल्छन् । विविधतामा एकताको साक्षात्कार गर्दै परस्परमा आत्मीय बन्धुत्वको अनुभूति गर्दछन् । संकीर्णता छुट्छ । यसरी नै "वसुधैव कुटुम्बकम्"को उद्घोषले सार्थकता पाउँछ भन्ने मानसिकताको विकास यस वर्गबाट हुन्छ ।
जेठ ९ गते शुरु भएको संघ शिक्षा वर्ग २९ गतेका दिन दीक्षान्तसम्म सञ्चालित रहने छ । वर्गमा ५४ जना शिक्षार्थी रहेका छन् भने प्रशिक्षण र व्यवस्थामा निरन्तर खट्ने ४० कार्यकर्ता गरी ९४ स्वयंसेवकहरूको सहभागिता रहनेछ ।