- विजयप्रसाद मिश्र
प्रत्येक वर्ष ५ जूनका दिन विश्व पर्यावरण दिवस आयोजना गरिन्छ । यस वर्ष, सन् २०२२ का लागि विश्व पर्यावरण दिवसको घोषवाक्य छ—‘ओन्ली वन अर्थ’ अर्थात् ‘केवल एउटै पृथ्वी’ । पर्यावरण प्रदूषणको गम्भीर समस्याबारे विचार गर्नका लागि सन् १९७२ मा संयुक्त राष्ट्र संघले स्टोकहोम (स्वीडन) मा विश्वभरिका देशहरूको पहिलो पर्यावरण सम्मेलन आयोजना गरेको थियो, जसमा ११९ देशहरू सहभागी थिए । यसै सम्मेलनबाट यूएनईपी स्थापना गरिएको छ । अतः प्रतिवर्ष जून ५ मा पर्यावरण दिवस आयोजित गरी आम नागरिकहरूलाई प्रदूषणको समस्याबारे अवगत गराउने निश्चय गरियो । वस्तुतः यस दिवसको मुख्य उद्देश्य पर्यावरणप्रति जागरुकता ल्याउँदै राजनीतिक चेतना जागृत गराउनु एवं आम जनतालाई प्रेरित गर्नु थियो ।
पछिल्ला दुई वर्षमा विश्व मानव समुदायले नै कोरोनाका कारण विषाणुको फैलावसँगै अक्सिजनको अभाव जस्तो दयनीय अवस्थाको प्रत्यक्षदर्शी बन्नुपरेको थियो । यस कालखण्डमा पर्यावरण एवं यसका विभिन्न जैविक एवं अजैविक घटकहरूको संरक्षण किन आवश्यक छ भन्ने कुरा सोच्न प्रत्येक व्यक्ति पक्कै पनि बाध्य भएको हुनुपर्छ । वास्तवमै यो चिन्ताको विषय थियो ।
यता वैदिक सनातन हिन्दू धर्ममा चिन्ता होइन, चिन्तनलाई प्राथमिकता दिइन्छ । र, ‘विश्वमङ्गल हेतवे’ अर्थात् आफ्नो त अस्तित्व नै विश्वको मङ्गलका लागि, विश्वको कल्याणका लागि हो भनी आफ्नो परिचय दिने यस धर्म–संस्कृतिले पर्यावरण संरक्षणलाई आदिकालदेखि नै प्राथमिकतामा राखेको छ । यसका यथेष्ट उदाहरण हामीले वैदिक साहित्यमार्फत् पाउँदछौँ । हुन पनि साहित्य समाजको परिचायक नै हो । र, वैदिक साहित्यले जसरी प्रखर रूपमा पर्यावरण संरक्षणका विविध उपायहरूको उद्घोष गरेका छन्, त्यसरी नै हिन्दू समाज–जीवनमा ती उदात्त भावहरू व्यवहृत हुँदै आएका छन् । तिनै व्यवहारलाई यहाँ कर्तव्य–कर्मरूपी ‘धर्म’ भनिएको छ । व्यवहारमा प्रकट हुने यस धर्मले हामीलाई सिकाएको छ—
- पृथ्वी, जल, वायु, अग्नि, वनस्पति, अन्तरिक्ष, आकाश आदि सबै पूज्य छन् । यी जीवनदायिनी शक्ति हुन् । यस्ता शक्तिप्रति श्रद्धाभाव राख । यिनलाई आदरपूर्वक उपयोगमा ल्याऊ । दुरुपयोग नगर । यी ऊर्जा हुन्, अपव्यय नगर ।
- पृथ्वी त तिम्री आमा नै हुन् । तिमी पृथ्वीका सन्तान हौ । —माताभूमिः पुत्रोऽहं पृथिव्याः ।
- धर्ती जगत्पालक भगवान् विष्णुकी शक्ति ‘भूदेवी’ हुन् । तिम्रो अस्तित्व र समृद्धि यिनैमा आधारित छ । बिहान कुल्चनुअघि धर्ती मातासित क्षमा याचना गर । यसका लागि प्रचलित श्लोक छ—
समुद्रवसने देवी पर्वतस्तन मण्डले ।
विष्णुपत्नी नमस्तुभ्यं पादस्पर्शं क्षमस्वमे ।।
- वृक्ष–वनस्पति नै प्राणवायु (अक्सिजन)का प्राथमिक उत्पादन केन्द्र हुन् । यी पूज्य छन् । पूज्य यस अर्थमा कि, तिमीले वृक्ष–वनस्पति रोपण गर्नुपर्छ, तिनलाई हुर्काउनुपर्छ, संरक्षण गर्नुपर्छ ।
ऋषिहरूको यस पावन भूमिमा सदैव गुणकारी वनस्पतिहरू उपलब्ध भइरहेका छन् । वैदिक ऋषिहरूले समस्त वृक्ष एवं वनस्पतिलाई मानव–आकांक्षाहरूसित जोडेर तिनलाई सुरक्षा प्रादन गर्ने सद्प्रयास गरेका छन् । वृक्ष–वनस्पतिहरूप्रति आदरभाव जागृत गर्दै तिनलाई विभिन्न व्रत–पर्वहरू पूजा गर्ने विधान बनाएका छन् । यसले ती वृक्ष–वनस्पतिप्रति आदर एवं आत्मीयतासँगै सम्मान र संरक्षणको भावनातर्फ परिलक्षित गराउँदछ । वेदहरूमा समग्र वनसम्पदा, वनस्पतिजगत् तथा तिनका संरक्षक र पालकहरूलाई पनि वन्दनीय एवं पूजनीय भनी सम्बोधन गरिएको छ । यजुर्वेद (१६।१७–२०) का वचन छन्—
नमो वृक्षेभ्यो हरिकेशेभ्यो वनानां पतये नमः
वृक्षाणां पतये नमः औषधीनां पतये नमः
वृक्षाणां पतये नमः अरण्यानां पतये नमः ।।
यसको भावार्थ हो, जसमा सूर्यको हरणशील किरणहरू समाहित हुन्छन्, यस्ता वृक्षहरूलाई नमस्कार छ । वनपालक, रक्षक, वृक्ष र औषधिहरूको रक्षा गर्ने वनरक्षकलाई पनि नमस्कार छ ।
हामीले हाम्रा शास्त्रले सर्वत्र दिव्यताकै दर्शन गर्न प्रेरित गरेको छ । यस दृष्टिले पनि प्रकृति दिव्य, उपास्य र वरेण्य छ । भगवान् श्रीकृष्णले गीता (७।४) मा भन्नुभएको छ—
भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
अहंकार इतीयं मे भिन्न प्रकृतिरष्टधा ।।
पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि तथा अहंकार— यी मेरा भिन्न अपरा प्रकृति हुन् ।
हिन्दू दर्शनमा पर्यावरणको स्थानलाई यस श्लोकले पनि स्पष्ट पारेको छ । श्लोक अनुसार पर्यावरणका विभिन्न अवयव स्वयं ईश्वरकै विभिन्न प्रकृति–विभूति हुन् । यसको अर्थ हो, पर्यावरण परमपिता परमात्माको देन हो, उहाँकै अंश हो यसकारण यो पूज्य छ । प्रकृति तथा पर्यावरणको यही पूज्य भावलाई हिन्दू दर्शनले आत्मसात् गरेको छ । उपर्युक्त श्लोकमै मन, बुद्धि र अहंकारलाई पनि ईश्वरकै प्रकृति भनी व्याख्या गरिको छ । यस दृष्टिले पर्यावरणलाई ईश्वरीय विभूति मानी त्यसको आदर गर्नु नै बुद्धिमानी हुनेछ । प्रकृति र पर्यावरणलाई हानि पुर्याएमा मनुष्यले त्यसको कोपभाजन बन्नुपर्दछ ।
लीलापुरुषोत्तम श्रीकृष्णले गोवर्धन लीलाका माध्यमबाट दिनुभएको सन्देशतिर पनि हामीले दृष्टिपात गर्नु उपयुक्त हुन्छ । उहाँले बृजवासीहरूलाई गोवर्धन पर्वतको पूजा गर्नका लागि प्रेरित गर्नुभएको छ र पछि अतिवृष्टिका कारण उत्पन्न संकटबाट पार पाउन पनि त्यही पर्वतको शरणमा जान प्रेरित गर्नुभएको छ । यसको सोझो अर्थ के हो भने प्रकृति तथा पर्यावरणलाई आफ्नो पक्षमा राख्नाले मानवले अनेक प्राकृतिक आपदाहरूबाट सरलतापूर्वक मुक्ति पाउन सक्छ र अस्तित्वको संकट पनि उत्पन्न हुँदैन । त्यस्तै कालिया मर्दनको प्रसङ्गबाट पनि नदीहरूमा कुनै पनि प्रकारका प्रदूषण उत्पन्न र विकसित हुन नदिनु र कदाचित् नदी, ताल आदि जलाशयमा कुनै प्रकारको प्रदूषण उत्पन्न भएको छ भने हजार कष्ट सहेर भए पनि त्यसलाई प्रदूषणमुक्त एवं स्वच्छ बनाउनू भन्ने आशय स्पष्ट बुझ्न सकिन्छ । यसो गर्नसके मात्र हाम्रा नदीहरूमा सदैव अमृत–तुल्य जीवनदायिनी जलधारा प्रवाहमान रहनेछ । आजको सन्दर्भमा हामीले नदीलाई, जलाशयलाई विषाक्त बनाउने हाम्रै अनेक प्रकारका क्रियाकलाप नै कालिया नागको विष बनेर हाम्रा लोकमाताहरूलाई विकृत बनाइरहेको छ । र, यसको दुःखद् परिणाम हामी आफैले भोग्नुपरिरहेको छ ।
ईश्वरले यस धरामा यति सुन्दर जीवनदायिनी पर्यावरण रूपी अद्भुत रचना पक्कै पनि यहाँका जीवनधारी सन्नतिहरूको सुख र शान्तिका निम्ति गर्नुभएको थियो । तर, अतिशय सुखभोगको कामनाका कारण हामी मनुष्यले यसको शोषण गर्न थाल्यौँ र यसका अवयवहरूबीचको सन्तुलन नै बिगारेर छाड्यौँ । यसबारे विख्यात वैज्ञानिक स्टीफन हकिंगले भन्नुभएको छ—
‘हामी हाम्रै लोभ र मूर्खताका कारण आफैलाई नष्ट नर्गे स्थितिमा पुगेका छौँ ।’
त्यस्तै, नोबेल पुरस्कार विजेता साहित्यकार आक्टेवियो पाजको भनाई उद्धृत गरौँ—
‘प्रगति सम्बन्धी हाम्रो विवेकहीन अवधारणा र प्रकृतिको शोषणका लागि भइरहेका हाम्रा प्रयत्नहरूको तीव्र गति आत्मघाती दौड सिद्ध हुँदैछ ।’
यहाँ ईशावास्योपनिषद्को पहिलो मन्त्र ध्यातव्य छ, जसको आशय छ—
‘यो चराचर ईश्वरको कृति हो । आफ्नो जीवन धारण र विकासका लागि यसको उपयोग त्यागपूर्वक गर, लोभी बनेर होइन ।’
यसो भन्नुको तात्पर्य हो हामीले आफूलाई आवश्यक पर्ने कुरा प्रकृतिबाट दोहन गर्नुपर्दछ, शोषणको मनशाय राख्नु हुँदैन । तर हामीले मनुजता गुमायौँ । आफ्नै गृह–ग्रहलाई बिगार्यौँ ।
हिन्दू संस्कृतिमा वायु आदिलाई देवताका रूपमा स्वीकारिएको छ । वन–कन्दरा तथा देउरालीहरूमा ईश्वरको वास छ भन्ने भाव नेपाली जनजीवनमा ओतप्रोत छ । नदीहरू लोकमाता हुन् । पहाड–पर्वतादि त स्वयं देवताहरूको निवास हो भन्ने भाव लिएर हामी ‘
देवतात्मा हिमालय’ भनी आदर भाव राख्दछौँ । वेदहरूमा जल, पृथ्वी, वायु, अग्नि, वनस्पति, अन्तरिक्ष, आकाश आदिप्रति असीम श्रद्धा दर्शाउने कुरामा निकै बल दिइएको छ । वास्तवमा हिन्दू दर्शन विश्वकै स्वस्थ विकासको ‘ब्लू प्रिन्ट’ हो । अन्य कुराका अतिरिक्त यसले प्रकृतिको साहचर्यमा जीवन जिउने पथ प्रदर्शन गर्दछ । तत्त्वदर्शी ऋषिको निर्देशन अनुसार विवेकपूर्ण जीवन जिउँदै थियौँ भने आज गम्भीर रूपमा वातावरणीय असन्तुलनको समस्या आउने थिएन । विकास अवश्य हुदैथियो तर त्यससँगै जुम्ल्याहा बनेर देखापरेको विनाशलाई रोक्न सकिनेथियो । हामीले बिगार्यौँ । आब हामी आफैले सुधार पनि गर्नुपर्छ । यसका निम्ति, विश्व पर्यावरण दिवस मनाइरहँदा हामीले आफ्ना गौरवशाली पूर्वजले दिएको जीवन–सन्देश र वैभवपूर्ण शास्त्रहरूतिर पनि दृष्टिपात गर्न सक्यौँ भने यसले विश्वकै लागि सुन्दरतम् मार्ग प्रशस्त गर्नेछ भन्ने कुरामा सबैको ध्यान जानु अपरिहार्य छ ।
मधुमतीरोषधीर्द्याव
आपो मधुमन्नो भवत्वन्तरिक्षम् ।
क्षेत्रस्य पतिर्मधुमान्नो
अस्त्वरिष्यन्तो अन्वेनं चरेम ।।
यस प्रार्थनाको भावार्थ हो— वनस्पतिहरू शुद्ध एवं प्रभावकारी होऊन्, आकाश स्वच्छ होस्, जल निर्मल र मधुर होस्, अन्तरिक्ष स्वच्छ होस्, सबै दिक्पाल प्रसन्न रहून् जसको परिणामस्वरूप हामी समृद्धशाली बन्न सकौँ । समग्र विश्वका निम्ति ऋग्वेदका ऋषिहरूको यो प्रार्थना सार्थक होस् । विश्व पर्यावरण दिवस मनाउनुको औचित्यले पनि सार्थकता पाओस् । हार्दिक शुभेच्छ ।