– श्री ग.वि.केतकर (बी.ए., एल–एल. बी.)
न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन ।
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।।
यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रितः ।
मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।
उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।
सङ्करस्य च कर्ता स्यामुपहन्यामिमाः प्रजाः ।।
– श्रीमद्भभगवद्गीता ३।२२–२४
श्रीमद्भगवतगीताको उपर्युक्त श्लोकहरूमा श्रीकृष्णको चरित्रको सार आएको छ । समाजलाई उचित मार्गबाट लिएर हिँड्नु, साधुजनहरूलाई परित्राण गर्नु र दुष्टहरूको दलन गरी धर्म–संस्थापन गर्नु, यी श्रीकृष्णको अवतार–कार्य हुन् । जसरी वैयक्तिक धर्म, पारिवारिक धर्म तथा कुल–धर्मका आचरणको आदर्श रामायणमा पाइन्छ, त्यसरी नै हिन्दू–समाजलाई समष्टि–धर्म र राष्ट्र–धर्मको आदर्श अनेक श्रेष्ठ पुरुष तथा विशेषतः श्रीकृष्णका चरित्रबाट मिल्दछ । जब एकतिरबाट व्यक्ति–धर्म र कुल–धर्म तथा दोस्रोतर्फबाट समष्टि–धर्म अथवा राष्ट्रधर्मको समस्या सामुन्ने उपस्थित भए, तब श्रीकृष्णले अनेक प्रमाणहरूका साथ अर्जुनलाई श्रीमद्भभगवद्गीतामा यही कुरा बुझाउनु भयो कि व्यक्ति–धर्म तथा कुल–धर्मको अपेक्षा राष्ट्रधर्मको तात्विक उपदेशलाई बुझाउनका लागि उहाँ एक प्रत्यक्ष उदाहरण हुनुहुन्छ । र वास्तवमा उपदेशको अपेक्षा उदाहरण अधिक परिणामकारी हुन्छ ।
कोरा उपदेशबाट तत्व बुझ्नमा आउँदैन, तर त्यही उदाहरण सामुन्ने उपस्थित गरी देखाउनाले सजिलै बुझ्न सकिन्छ । यसैले गीताको चौथो अध्यायमा भगवान् अर्जुनलाई भन्नुहुन्छ ‘मेरो जन्म–कर्मलाई तिमी बुझ ।’ गीतामा एकतिर जहाँ ‘न मे द्वेष्योऽस्ति न प्रियः’ ‘निर्वैरः सर्वभूतेषु’ तथा ‘शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः’ यस्तो भनिएको छ त्यहीँ दोस्रोतिर यो पनि भनिएको छ कि ‘आसुरीय र क्रूर मानिसलाई म आसुरी योनि दिन्छु र दुष्ट कार्य गर्नेको नाश गर्दछु ।’
‘क्षिपाम्यजस्त्रमशुभानासुरीष्वेव योनिषु’ र ‘विनाशाय च दुष्कृताम्’ यी दुबै प्रकारका वचन देख्नमा परस्पर विरोधी छन् । धेरै जसो मानिसले यिनको संगति ठम्याउन सक्दैनन् । ‘सर्वभूतहिते रतः’ आदि लक्षणहरूबाट ज्ञानी पुरुषको वर्णन गरी त्यसैका लागि ‘हत्वाऽपि स इमाँल्लोकान्न हन्ति न निबध्यते’ यस्तो पनि भनिएको छ, यो भूलभुलैया बुझ्न निकै कठिन छ । फलासक्ति पनि छोड्न, सङ्ग–त्याग पनि गर्नु र कर्तृत्वाभिमानबाट अलिप्त रहेर पनि त्यस्तै उत्साहले कर्म गर्नु, जुन उत्साहले कर्मासक्त मानिस गर्दछन्, ‘मुक्तसङ्ग’ र ’अनहंवादी’ भएर पनि ‘धृत्युत्साहसमन्वित’ बन्नु, यी सबै कुरा अधिकांशको विचारमा एकदम असम्भव छ ।
कसै–कसैको धारणा छ कि अर्जुनलाई युद्ध–जस्तो कर्ममा– विशेषतः पारिवारिक कलहपूर्ण युद्ध जस्तो घोर कर्ममा प्रवृत्त गराउनका लागि भगवान्द्वारा उनलाई यति गूढ र सारगर्भित तत्वज्ञानको उपदेश दिइनु त त्यस्तै अप्रयोजक भयो जस्तो कसैले कोदोको रोटी सेक्नका लागि चन्दनको काठ बालोस् । यसै प्रकार माथिबाट जे कर्म देखिन्छ त्यो मूलमा अकर्म हो र माथिबाट जे अकर्म देखिन्छ त्यो मूलमा कर्म हो, यस उलझनबाट निस्कन पनि धेरैका लागि निकै कठिन हुन्छ । यी समस्त कूट समस्याहरूलाई राम्रो गरी समाधान पूर्वक ब्झ्नका लागि महाभारतमा वर्णित श्रीकृष्ण–चरित्रको मार्मिक र सूक्ष्म परिशीलन नै सर्वोत्तम उपाय हो । सारांश यो हो कि श्रीकृष्ण–चरित्र कर्मयोगको समस्त अङ्ग–उपाङ्गको स्पष्टीकरण गर्ने उदाहरणहरूको एक अपूर्व संग्रह हो । जब श्रीकृष्ण पाण्डवहरूका दूत बनेर हस्तिनापुर पुग्नुभयो र त्यहाँ जब दुर्योधनले उहाँलाई भोजनका लागि निमन्त्रण दियो, तब त्यसलाई अस्वीकार गर्दै उहाँले भन्नुभयो–
सम्प्रीतिभोज्यान्यन्नानि आपद्भोज्यान वा पुनः ।
न च सम्प्रीय से राजन् न चैवापद्गता वयम् ।।
अर्थात ‘भोजन या त प्रेमका कारण गरिन्छ या विपत्ति पर्दा जहाँ पाइयो जेजस्तो पायो खाएर पेट भर्नुपर्दछ । यहाँ न त हामीमाथि विपत्ति परेको छ र न प्रेम नै छ !’ श्रीकृष्णको प्रेम कौरवहरूका साथ किन छैन र पाण्डवहरूका साथ किन छ, यस कुराको पनि उजागर श्रीकृष्णले त्यसै समयमा गरिदिनुभयो । उहाँले भन्नुभएको छ–
यस्तान्द्वेष्टि स मां द्वेष्टि यस्ताननु स मामनु ।
ऐक्यात्मं हि गतं विद्धि पाण्डवैर्धर्मचारिभिः ।।
पाण्डवहरूका साथ मेरो यस्तो एकरूपता भएको छ कि जो उनीहरूको शत्रु हुन् ती मेरा पनि शत्रु हुन् र जो तिनका मित्र हुन् ती मेरा पनि मित्र हुन् र यस एकरूपता या तादात्म्यको कारण यो हो कि पाण्डव धर्मचारी छन् । यानी श्रीकृष्ण धर्मका पक्षपाती हुनुहुन्छ, कुनै व्यक्ति विशेषका होइन । पाण्डव धर्मचारी छन्, यसैले उहाँले तिनको पक्ष ग्रहण गर्नुभयो । उचित र अनुचित दुबै प्रकारका पक्षपातको उदाहरण महाभारतमा मिल्दछन् । गीताको पहिले अध्यायमा यो तुलना स्पष्ट देखिन्छ ।
यता पाण्डवहरूको सत्यपक्ष हुनुका कारण श्रीकृष्ण तिनको तर्फबाट पूर्ण उत्साह र साँचो मनले सारथ्य–जस्तो त्यस समयको समाजको नीच कर्मलाई पनि स्वीकार गरेर युद्धमा भाग लिनुहुन्छ र अर्जुनलाई प्रोत्साहित गर्नुहुन्छ । उता दुर्योधनको असत्य पक्ष हुँदा पनि भीष्म पितामह–जस्ता श्रेष्ठ पुरुष तक ‘अर्थस्य पुरुषों दासः’ का अनुसार (मनमनै हार्ने सम्भावना बुझेरै पनि) उसको पक्ष ग्रहण गर्दछन् । ‘अर्थ’ शब्दको अर्थ चाहे धन लिइयोस् या पहिले दिइएको वचन मानियोस् अथवा क्षत्रियहरूका लागि निश्चित गरिएको अलिखित नियम ठानियोस् तर श्रीकृष्णको धर्म–पक्षपातका सामु भीष्मको अर्थ–पक्षपात अत्यन्त हलुका या गौण ठहर्दछ । पाण्डवको पक्ष न्यायको पक्ष हो, यसको पूर्ण विश्वास थियो भीष्मलाई, तर पनि उनी दुर्योधनलाई स्वीकृत कार्य–निर्वाहका लागि उत्साह दिनुहुँदै थियो, र आश्चर्य यो कि यतिमा पनि दुर्योधनको संशय हट्दैनथ्यो ।
धर्म संस्थापनको कार्यमा साधुपुरुषहरूको संरक्षण र दुष्टहरूको प्रतिकार गर्नुपर्दछ । अथवा प्रकाश पार्नुको अर्थ नै जसरी अन्धकारलाई हटाउनु हो त्यसरी नै साधु–परित्राण तथा दुष्ट–दलन यी दुबै कार्य एक–अर्काका साथ गाँसिएका मात्र छैनन्, यी दुबै एकरूप नै हुन् । जब प्रतिकारको कार्य सामु आइ उपस्थित हुन्छ तब सारा बल लगाइदिनु पर्दछ । श्रीकृष्णले बाल्यकालदेखि नै यस्तै बलको चमत्कार देखाउन थाल्नुभएको थियो र चाणूरमर्दनमा त त्यो अत्यन्त स्पष्ट रूपबाट देखिएको थियो । जब अन्यायको पक्ष लिएर बलको दुरुपयोग गरिन्छ तब तिनको प्रतिकार गर्ने बललाई ईश्वरीय बल ठानिन्छ । बल स्वरूपतः पाशविक हुँदैन, त्यो उपयोग–भेदले ईश्वरीय या शैतानी मानिन्छ । यस प्रकार मनुष्यलाई उसको प्रयत्न साध्य कुराहरूको दिग्दर्शन गराउनमा नै श्रीकृष्ण चरित्रको अपूर्वता छ, चमत्कारमा होइन । यसमा यदि चमत्कार छ भने पनि त्यो यही हो कि अनेक विपत्ति आइलागे पनि अन्त्यमा सत्य र न्यायलाई नै विजयश्री प्राप्त हुन्छ ।