काठमाडौ २ मा नक्कली अंकगणितप्रति कुन्तिको कडा प्रतिबाद
कात्तिक २५, काठमाडौं । यतिबेला देशैभर आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ ।
त्योसँगै काठमाडौं २ को निर्वाचनको माहोल पनि तातिएको छ । तत्कालीन एमाले नेता माधवकुमार नेपालले पनि हार व्यहोरेको र अहिले राप्रपाकी चर्चित नेतृत्व कुन्ती पोख्रेलको उम्मेदावरी भएका कारण पनि काठमाडौं क्षेत्र नं २ चर्चामा रहेको हो । यस क्षेत्रमा राप्रपाले पार्टीकी लोकप्रिय नेतृ कुन्तीदेवी पोख्रेललाई उठाएको छ भने सत्तागठबन्धनले ओनसरी घर्तीलाई रोल्पाबाट ल्याएर उठाएको छ । त्यसैगरी एमालेले मणिराम फुयाललाई पठाएको छ । त्यसकारण पनि काठमाडौं क्षेत्र नं. २ को निर्वाचन पेचिलो बन्दै गएको हो ।
अहिले चर्चित क्षेत्रमा सम्पन्न स्थानीय निर्वाचनको आँकडा ल्याएर विभिन्न अंकगणित देखाउने गरिएको छ । यसबीचमा राप्रपाकी उम्मेदवार कुन्ती पोख्रेलले विभिन्न तरिकाले आफूविरुद्ध चुनावको कपोकल्पित र भ्रामक अंकगणित देखाएर प्रचार गरिएकोप्रति कडा शब्दमा प्रतिवाद गरेकी छिन् । उनले ‘मेरा हजुर बुबाले सुका मानु घिउ खाएका थिए’ भन्ने उक्तिलाई चरितार्थ गर्दै पहिलाको निर्वाचनको आँकडा ल्याएर अंकगणित देखाइ भ्रम छर्न खोजिएको भन्दै आपत्ति जनाएकी हुन् ।
उसो त गत स्थानीय चुनावमा यो क्षेत्रमा नगरप्रमुख र वडाअध्यक्षहरूले पाएको मतमा दलगत रूपमा एमाले अगाडि देखिएको छ । उक्त चुनावमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२९, नेकपा (एकीकृत समाजवादी) ले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र नेकपा (माओवादी केन्द्र) ले ३ हजार १३१ मत प्राप्त गरेका थिए । स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार मानेर अंकगणित निकालिएको हो भने त्यो संघ र प्रदेश निर्वाचनमा लागु नहुन सक्छ । किन भने स्थानीय निर्वाचनमा उम्मेदवारको नातासाइनो, स्थानीय रुपमा लोकप्रिय व्यक्तित्व, मिलनसार र सहयोगी भावना जस्ता व्यक्तिगत आकर्षणले पनि भोट आएको हुनसक्छ । त्यस्ता भोट केन्द्रीय र प्रदेश निर्वाचनमा प्रतिनिधित्व गर्ने उम्मेदवारलाई नआउन सक्छ । त्यसैले एमालेकोतर्पmबाट स्थानीय जनप्रतिनिधिले प्राप्त गरेको मत केन्द्र र प्रदेशलाई नआउन सक्छ ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले स्थानीय तहमा प्राप्त गरेको मत संघ र प्रदेश निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सर्लक्क आउँछ भन्ने एकिन छैन । राप्रपाको पनि भोट पनि त्यति मात्रै हुन्छ भन्ने छैन । यो निर्वाचनमा दोहोरिएर उम्मेदवार बनेका र निर्वाचन क्षेत्र परिवर्तन गरेर आएका उम्मेदवारलाई भोट नदिने मतदाताको भनाइ सुन्दा पनि त्यो अंकगणितले काम काम गर्ने देखिँदैन । यस क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेकी ओनसरी घर्ती बाहिरबाट क्षेत्र परिवर्तन गरेर आएकी हुन् । एमालेबाट उम्मेदवार बनेका मणिराम फुयाल पनि प्रदेश सांसद् भइसकेका व्यक्ति हुन् । यस हिसाबले हेर्दा यी ठूला दल र गठबन्धनका उम्मेदवारहरुप्रति खासै जनआकर्षण देखिँदैन । राप्रपाबाट उम्मेदवार बनेकी कुन्ती पोख्रेल भने समाजसेवामार्फत यो क्षेत्रका जनतासँग राम्रो घुलमिल गरेकी र समस्याका बेला सहयोग गरेकी व्यक्ति हुन् । त्यसले पनि गठबन्धनका कारण कांग्रेसबाट रुष्ट भएका मतदाता र एमालेबाट बिच्किएका मतदाता कुन्तीको पक्षमा खुलेका कारण पनि उनको तातिएको देखिन्छ ।
यसपालिको निर्वाचनमा दल र उम्मेदवारको ‘हाइट’ भन्दा पनि नयाँ अनुहार र स्थानीय व्यक्तिप्रति जनआकर्षण ह्वात्तै बढेको हो । त्यसलाई आधार मान्दा समाजसेवामार्फत यस क्षेत्रका जनतामाझ काम गर्दै आएकी राप्रपाकी कुन्ती पोख्रेलले काठमाडौं २ मा बाजी मार्ने देखिन्छ । यसैपनि यो निर्वाचनमा राप्रपाको भोट बढ्दै छ । त्यसमा कुन्ती उद्यमी, व्यवसायी, समाजसेवी र जनतामाझ स्वच्छ छवि भएका कारण पनि जित उनकै पक्षमा जाने देखिन्छ ।