अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले गरे आफूलाई विजेता घोषणा
२१ कार्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहनुभएका डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गर्नुभएको छ । फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उहाँले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गर्नुभएको हो ।
यो घोषणासँगै रिपब्लिकन क्याम्पमा ठुलो उत्साह र हर्षोल्लास देखिएको छ । उता डेमोक्रेटिक पार्टीका समर्थकहरू भने यो नतिजाबाट स्तब्ध छन् ।
यसको औपचारिक नतिजा भने आइसकेको छैन ।
यो समाचार तयार पार्दासम्म ट्रम्पले २६७ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । अमेरिकी उच्च सदन (सिनेट) मा रिपब्लिकन पार्टीले बहुमत ल्याइसकेको छ । पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो सङ्ख्या बहुमतभन्दा माथि पुगाएको अमेरिकन मिडियाले समाचार प्रकाशन गरेका छन् । सदनमा रिपब्लिकन पार्टीको ५१ र डेमोक्रेट पार्टीको ४९ सांसद कायम रहने देखिएको छ ।
सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बन्नुभएका ट्रम्प सन् २०२० मा डेमोक्रेटिकका उम्मेदवार जो बाइडनसँग पराजित हुनुभएको थियो । अहिले तेस्रो पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका ट्रम्पलाई पुनः अमेरिकी राष्ट्रपतिको जिम्मेवारी काँधमा आउने करिब सुनिश्चित भएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।