पितृको मोक्षको कामना गरी मनाइने बालाचतुर्दशी
मङ्सिर महिनाको कृष्ण पक्षको चतुर्दशीलाई बाला चतुर्दशीका नामले चिनिन्छ । चतुर्दशी तिथिले चौधौँ तिथि भन्ने अर्थ प्रकाशन गर्छ । सामान्यतया मङ्सिर महिनाको कृष्ण पक्षको चौधौँ दिन नै बाला चतुर्दशी पितृको उद्धारसँग सम्बन्ध राख्ने पर्व हो ।
सन्दर्भ तथा किंवदन्ती
परापूर्वकालमा महादेवले मृगको रूप धारण गरी मृगस्थलीमा आई विहार गरेको प्रसङ्ग सुन्न पाइन्छ । मृगस्थली पशुपति क्षेत्रअन्तर्गत वाग्मती नदीको किनारमा अवस्थित छ । त्यतिखेर पार्वतीले मृगको रूप धारण गर्ने महादेवलाई चिन्न उक्त स्थलमा विभिन्न प्रकारका बीज छरेको र बीज उम्रन गई हरिया भएपछि मृगहरूको हुल चर्न आउँदा मृगरूपधारी महादेवलाई चिन्न सकेकाले उक्त क्षेत्रका साथै तीर्थस्थलमा बीज छर्दा सुन दान गरेबराबर पुण्य मिल्ने विश्वास गरिन्छ । त्यति मात्र नभई पितृहरूले ती अन्नको उपभोग गर्ने र खुसी हुने विश्वास कतिपय श्रद्धालुहरू लिने गर्दछन् ।
यसै गरी बाला चतुर्दशीका सम्बन्धमा पशुपति क्षेत्रमा बस्ने गरेका बालानन्दसँग जोडिएको किंवदन्ती अत्यन्त प्रचलित छ । बालानन्दले खाजा खाँदै गर्दा उनको भागमा गिदी उछिट्टिएर परेको र त्यो खाँदा मिठो मानेकाले त्यसैमा अभ्यस्त हुँदै उनी बालासुर नामले चिनिन थाले । उनको बीभत्स रूप र व्यवहारबाट आजित भएका मानिसहरूले उनकै मित वृषसिंहमार्फत उनको वध गराए । आफ्ना मितको आपूmबाट नै भएको हत्याबाट विक्षिप्त बनेका वृषसिंहलाई स्वप्नमा आई महादेवले सद्बीज छर्न आज्ञा दिएको र त्यसबाट बालासुरको उद्धार भएको हुँदा बालाचतुर्दशीमा सद्बीज छर्ने परम्परा बसेको हो भन्ने मान्यता पनि विकसित देखिन्छ । यही प्रसङ्गमा बालासुरको वध गर्नका लागि राजाबाट पठाइएका उनकै साथी वृषले आफ्नो साथीको वध गर्न नसकी महादेवको तपस्या गर्न पुग्छन् । तपस्याबाट प्रसन्न भएकाले महादेवबाट बालासुरलाई असुरयोनिबाट मुक्त गर्र्दै बालासुरको पापको प्रायश्चित्तका लागि सद्बीज छर्ने आज्ञा हुन्छ र त्यसबेलादेखि पितृ उद्धारका लागि सद्बीज छर्ने परम्परा बसेको हो भन्ने किंवदन्ती अर्कातिर प्रचलित छ । यसका साथै बाला चतुर्दशीका दिन श्लेष्मान्तक वनमा बीज छर्नाले पितृहरूले मोक्ष प्राप्त गर्छन् भनेर महादेवले नै वरदान दिएको किंवदन्ती पनि सुनिन्छ ।
विश्वरूप मन्दिरको छेउमा रहेको गणेशको मूर्तिसँग जोडिएको सन्दर्भ पनि रोचक देखिन्छ । ती गणेशले कान नसुन्ने भएकाले यस दिन मानिसहरू तिनलाई मनको कामना पूर्ण गरिदिन झकझक्याउने, हल्लाउने तथा चर्को आवाजमा पुकार्ने गर्दछन् । फलस्वरूप गणेशले पुकार सुनेर अभीष्ट पूरा गरिदिने कुरामा विश्वास गर्दछन् । गणेशसँग मङ्गलको कामना गर्दछन् ।
शतबीज/सप्तबीज/सद्बीज/सद्मी
बाला चतुर्दशीका दिन तीर्थस्थलमा छरिने अन्नका लागि नेपाली समाजमा विभिन्न शब्दको प्रयोग हुँदै आएको छ । शतबीज भनेको सय प्रकारको बिउ हो भने सप्तबीज भनेको सात प्रकारको बिउ हो । यिनलाई नै बताउँदै जाँदा सद्बीज वा सद्मी भन्न थालिएको देखिन्छ । कतिपय विद्वान्हरू सुरुमा सात प्रकारका बीज छर्ने प्रचलन रहेको मत प्रस्तुत गर्दछन् भने कतिपय सय प्रकारका बीज नै छर्ने परम्परा रहेको मान्दछन् । तिनमा पनि केही भने धानका नै सय प्रकारका बीज छर्ने चलन रहेको तर्क प्रस्तुत गर्दछन् । जसअन्तर्गत धान, गहुँ, मास, मुगी, जौ, तिल, कागुनो, केरा, उखु, कागती, बिमिरो, स्याउ, सुन्तला, निबुवा, अम्बा आदि छर्ने गरेको पाइन्छ ।
परम्परा
आशौचका बेला समय र परिस्थितिका कारण पवित्रतामा ख्याल नपुगेको हुन सक्ने भएकाले दोष निवारणका लागि बाला चतुर्दशीको विशेष महत्त्व रहेको छ । त्रयोदशीको दिन नै सम्भव भएसम्म तीर्थस्थल वा शिवालयपरिसरमा गएर दीप प्रज्ज्वलन गरी रातभर जाग्राम बस्ने चलन छ । सम्भव नहुनेहरू घरमा नै दीप प्रज्ज्वलन गरी जाग्राम बस्ने गर्दछन् । यसबखत बालिएका दीपका कारण पितृलोक झलमल्ल बल्ने विश्वास पनि गरिन्छ । विशेष गरी पशुपतिवरपरका आर्यघाट, गौरीघाट, किरातेश्वर, गुह्येश्वरीमा मानिसहरूको घुइँचो हुने गर्दछ भने देवघाट, त्रिवेणीधाम, वराहक्षेत्र, सेतीवेणीधाम, अर्जुनधारा जलेश्वरधाम आदि पनि श्रद्धालुहरूले भरिभराउ हुन्छ । बरखी बारेका बेला देवकार्य वर्जित मानिने भए पनि बाला चतुर्दशीका दिन भने तीर्थस्थल गएर सद्बीज छर्ने प्रचलन रहेको छ । त्रयोदशीका दिन बत्ती बालेर रातभर जाग्राम बसी भोलिपल्ट चतुर्दशीका दिन नदी, तलाउ वा जलाशयमा बगाउने गरिन्छ । त्यसपछि तीर्थस्थलमा सद्बीज छरिन्छ । यसै दिन दान आदि गर्ने प्रचलन पनि छ ।
उपसंहार
बाला चतुर्दशी आफ्ना सन्ततिलाई पितृप्रतिको कर्तव्य पूरा गर्न सिकाउने पर्व हो । यसले सन्तानमा पितृहरूप्रति सम्मान जगाउँछ भने पितृहरूले सन्ततिका लागि गरेका काम र दिएको जीवनप्रति कृतज्ञ हुन पनि सिकाउँछ । नेपाली समाज जीवनकालमा मात्र नभई जीवनपछि पनि पितृहरूको देनका सामु नतमस्तक हुने गर्दछ एवम् पितृको आशीर्वादलाई अमूल्य वरदानका रूपमा स्विकारेर जीवनरथलाई अगाडि बढाउने बाचा गर्दछ । पितृ खुसी हुँदा नै समृद्धिले बास गर्ने कुरालाई मनन गर्दै तिनलाई सधैँ ईश्वरीय दर्जा दिएर पूजा गर्दछ । बाला चतुर्दशी पूर्वजसँग सन्तानलाई जोडेर राख्ने सेतु हो ।