विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्र : राम मन्दिर
– नारायणप्रसाद ढकाल
भगवान् श्रीराम संयम, धैर्यता, नैतिकता, न्याय, सरलता, वीरता, एकात्मकता, विवेक करूणा, शान्ति, वात्सल्य, प्रेम, समानता र पुरुषार्थका प्रतिमूर्ति हुनुहुन्छ । भगवान रामलाई सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिले विश्व पुरुषको रूपमा इतिहासदेखि वर्तमानसम्म सबैले स्वीकार गरेका छन् । सम्पूर्ण विश्वमा सुविचार, स्वस्थ आचरण, नैतिकता, आत्मबोध, अध्यात्मबोध, सत्य मार्गमा हिँड्ने प्रेरणा, विश्व परिवार भावना, करूणा, दया, समभाव, विश्व बन्धुत्व र सद्गुण प्रवृत्तिको विचार प्रवाह गर्ने सनातन हिन्दू जीवन दर्शनका प्रतिक हुनुहुन्छ भगवान् श्रीराम ।
राम जन्मभूमि अयोध्यामा विश्वभरका सनातनी वैदिक धर्मावम्लवीहरूको आध्यात्मिक केन्द्र दिव्य र भव्य राम मन्दिर निर्माण भएको थियो । जसलाई १६ औँ शताब्दीमा मुगलहरूले कब्जा गरी बाबरी मस्जिदको रूपमा परिणत गरेका थिए । आफ्नो दिव्य भूमिलाई पाउन हिन्दूहरूले ५ सय वर्ष सम्म अनवरत संघर्ष गरे । लाखौं हिन्दूले बलिदान दिए । यसै विषयलाई लिएर हिन्दू लगायतका ओमकार परिवारका सदस्यहरूबाट धेरै संघर्ष भए । विधर्मी आततायिहरूको धेरै दुःख सहनु प¥यो ।
सन् १९८० पश्चात् विश्व हिन्दू परिषद्को नेतृत्वमा उक्त स्थानमा राम मन्दिर निर्माण गर्ने अभियान चल्यो र उक्त अभियान सन् २०१९ को सुप्रिम कोर्टको आदेशसँगै पूर्णतातिर पुग्यो । यस लगत्तै सन् २०२० को ५ फेब्रुअरीमा मोदी सरकारको नेतृत्वमा राम मन्दिर निर्माणको घोषणा गरियो । भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट राम मन्दिर निर्माणका लागि सहयोग राशी प्राप्त भए पश्चात् राजनीतिक व्यक्तित्व, समाजसेवी एवं आम नागरिकबाट सहयोग राशी संकलन भएको थियो । लाखौँको संख्यामा विश्व हिन्दू परिषद्का कार्यकर्ता सहयोग राशी संकलनका लागि परिचालित भएका थिए । संभवत कुनै मन्दिर निर्माणका लागि विश्वभरिका हिन्दूहरूले स्वस्फूर्त रूपमा त्यति ठुलो जनसहभागितामा संकलन भएको इतिहासमै पहिलो हुनुपर्दछ ।
विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्रका रूपमा अयोध्यास्थित राम मन्दिर थियो त्यसलाई विधर्मीहरूले भत्काए, अनेक षडयन्त्र गरे पनि ५ सय वर्षपछि त्यो गौरवपूर्ण धरोहर फेरि भव्य भएर पुर्ननिर्मित भएको छ । यसले विश्वमा हिन्दू जागरणको प्रेरणा दिनेछ ।
५ अगस्ट, २०२० मा भूमि पूजन गरी प्रारम्भ भएको विशाल मन्दिर निर्माण कार्य द्रुत रूपमा अगाडि बढेको छ । भव्य राम मन्दिर निर्माण अन्तिम चरणमा रहेको छ । सन् २०२४ जनवरी २२ मा प्राण-प्रतिष्ठा गरी समुद्घाटन हुने विश्वका हिन्दूहरूको आस्था र श्रद्धाको केन्द्र राम मन्दिरले विश्वका सनातनी हिन्दूहरूको मनलाई एकपटक अयोध्यामा केन्द्रित गराउने छ । विभिन्न कालखण्डमा भएका आक्रमणहरूले सनातन हिन्दूहरूमाथि पु¥याएको घाउलाई पुर्दै पुनः सत्यको जीतको प्रमाण र प्रतीक बनेर राम मन्दिर रहनेछ ।
भगवान्ले तत्कालीन लङ्काको स्वर्णीम वैभवलाई त्यागेर आफ्नै अयोध्या फकिर्नु भयो । आफ्नो जन्मस्थानलाई, स्वदेशलाई रक्षाका लागि रावणको आतङ्क र दुराचार प्रवृत्तिको अन्त्यका लागि शस्त्र उठाउनु भयो । श्रीराम जातीय उचनिचको विकृति, सामाजिक विकृतिलाई समाप्त गरी सामाजिक समानताको पाठ सिकाउनेवाला हुनुहुन्छ ।
श्रीरामबाट प्रकृतिको काखमा बसेका हुर्केका आदिवासी, जनजाति समाजलाई राष्ट्रको समृद्धिको मूलधारमा ल्याउने प्रेरणा लिन सकिन्छ । भगवान् श्रीरामले जनजाति समाजलाई आशा, आत्मीयता संचार गर्नुभयो । समाजलाई संगठन सूत्रमा बाँधेर एक विजय शक्ति खडा गरी उनीहरूलाई अधिकार, सम्मान दिलाउन वालि र रावण जस्ता असुर प्रवृत्तिको अन्त्य गर्नुभयो । किस्किन्धादेखि लङ्कासम्मको विशाल साम्राज्यलाई त्याग गरी सन्यासीको रूपमा अयोध्या फर्की सनातन हिन्दू विचार चिन्तनको आदर्श विश्वलाई दिनुभयो ।
विश्वमा अनेकौं व्यवस्थाहरूमध्ये रामराज्यमा सबैले न्याय पाएको इतिहासदेखि वर्तमानसम्मका सबैले स्वीकार गरेका छन् । तथ्यहरूले पुष्टि पनि गर्दछन् । त्रेतायुगदेखि कलियुगसम्म हजारौँ वर्षको समय पश्चात् पनि श्रीरामजीको सम्पूर्ण चरित्र र कार्यलाई सबैले एक आदर्शको रूपमा लिनु सामान्य विषय होइन, यो निश्चित रूपमा प्रत्यक्ष भगवानकै शासन व्यवस्था थियो भन्ने प्रमाणित हुन्छ ।
इतिहासको यस महत्वपूर्ण र ऐतिहासिक क्षणमा विश्वको जुनसुकै कुनामा छरिएर बसिरहेका सनातन विचारमा आस्था र विश्वास राख्नेहरू सबैले हर्ष उल्लासका साथ राम मन्दिर उद्घाटनको दिनलाई दिव्य विजय उत्सव मनाउने छन् र हिन्दू समुदायले दिएको बलिदानलाई आत्मसाथ गर्दै, सम्मान गर्दै मनाउनै पर्छ पनि । विश्वका हिन्दूहरूको आत्मसम्मान र आत्म गौरवको केन्द्रका रूपमा अयोध्यास्थित राम मन्दिर थियो त्यसलाई विधर्मीहरूले भत्काए, अनेक षडयन्त्र गरे पनि ५ सय वर्षपछि त्यो गौरवपूर्ण धरोहर फेरि भव्य भएर पुर्ननिर्मित भएको छ । यसले विश्वमा हिन्दू जागरणको प्रेरणा दिनेछ । भगवान् श्रीरामको प्रेरणा र आशिर्वादले मनुष्यहरूलाई सत्कर्ममा लाग्न प्रेरणा, ऊर्जा र शक्ति प्राप्त होस् । यस घटनाक्रमबाट हामी सबै नेपालीलाई आफ्नो धरोहर, संस्कृति, मूल्य र मान्यताको संरक्षण गर्ने प्रेरणा मिलोस् ।