२७ साउन, काठमाडौं । गोस्वामी तुलसीदासको नामले परिचित सन्त तुलसीदास हिन्दी साहित्यका महान् कवि हुनुहुन्छ । उहाँको रचना महाकाव्य श्रीरामचरितमानस विश्वको सर्वश्रेष्ठ काव्यहरुमध्ये लोकप्रिय एक हो ।
श्रीरामचरितमानसको रचयिता महाकवि सन्त तुलसीदासको जन्म भारतको उत्तरप्रदेशमा प्रयागनजिकै चित्रकुट जिल्लाअन्तर्गत राजापुर गाउँमा भएको थियो । आजको दिन संवत् १५५४, श्रावण मास शुक्लपक्षको सप्तमी तिथिका दिन पिता आत्मराम दुवे र माता हुलसी देवीका सुपुत्रको रुपमा भएको थियो ।
प्रचलित जनश्रुति अनुसार शिशु बाह्र महिनासम्म आमाको गर्भमा रहेको हुनाले अत्यधिक हृष्ट पुष्ट जन्मिनुभएको थियो । जन्मका समय नै उहाँले ‘राम’ नाम उच्चारण गर्नुभएको थियो, त्यसैले उहाँको नाम ‘रामबोला’ पनि राखिएको थियो । उहाँको जन्मको दोस्रो दिन नै आमाको निधन भयो । त्यसपछि उहाँको पिताले थप अनिष्टबाट शिशुलाई बचाउनका लागि चुनियाँ नामकी एक दासीलाई सुम्पिदिनुभएर आफू भने विरक्त हुनुभयो। रामबोला साढे पाँच वर्ष उमेरको हुँदा चुनियाँको पनि निधन भयो । त्यसपछि बालक रामबोला अनाथ सरह जीवन बाँच्न बाध्य हुनुभयो ।
भगवान् शिवको प्रेरणाले रामशैलमा बस्दै आउनुभएको श्री अनन्तानन्द जीका प्रिय शिष्य श्रीनरहर्यानन्द जी ९नरहरि बाबा० ले रामबोला नामले बहुचर्चित बालकलाई खोजेर विधिवत रूपमा उहाँको नाम तुलसीराम राखिदिनुभयो । त्यसपछि उहाँले बालक तुलसीरामलाई अयोध्या लिएर जानुभयो । त्यहाँ माघ शुक्ल पञ्चमीका दिन यज्ञोपवीत–संस्कार गर्नेक्रममा दीक्षा नदिइ बालक तुलसीरामले गायत्री मन्त्रको स्पष्ट उच्चारण गर्नुभएर त्यहाँ उपस्थित सबैलाई चकित तुल्याउनुभयो ।
त्यसपछि नरहरि बाबाले नै बालकलाई राम–मन्त्रको दीक्षा दिएर अयोध्यामा हुँदा नै उहाँलाई विद्याध्ययन गराउनुभयो । प्रखर बुद्धि भएको रामबोलाले एक पटक गुरु मुखबाट सुनेको कुरा तत्क्षण कण्ठस्थ गर्नसक्नुहुन्थ्यो । महा नरहरि बाबाले बालकलाई रामकथा सुनाउनुभयो तर रामबोलाले राम्रो गरी बुझ्नुभएन ।
संवत् १५८३ ज्येष्ठ शुक्ल त्रयोदशीको दिन २९ बांजी आयुमा राजापुर नजिकै यमुनापारस्थित एउटा गाउको अति सुन्दरी भारद्वाज गोत्रकी कन्या रत्नावलीसँग उहाँको विवाह भयो । विवाहपछि केही समयका लागि काशी गएर त्यहाँ शेषसनातनजीका साथ रहेर वेद–वेदांगको अध्यननमा लाग्नुभयो । त्यहाँ रहँदा एक दिन अचानक उहाँलाई आफ्नी पत्नीको सम्झनाले सताउन थाल्यो । त्यसपछि उहाँले गुरूजीबाट आज्ञा लिएर आफ्नो जन्मभूमि राजापुर फर्कनुभयो । तर, उहाँको पत्नी आफ्नो माइतमा बस्दै हुनुहुन्थ्यो । अतः तुलसीराम भयङ्कर अँध्यारो रातमा बढेको यमुना नदी पार गरेर लुकीछिपी ससुरालीको भित्ता चढेर पत्नीको शयन कक्षमा पुग्नुभएको थियो । झुक्किएर डोरी भन्ठानेर सर्प समाती चढ्नुभएको तुलसीदास सर्पदशंबाट धन्न बाँच्नुभयो । आफूलाई भेट्न आफ्ना पति आएको देखेर रत्नावली आश्चर्यचकित हुनुभयो । उहाँको पत्नीले लोक–लज्जाको भयले जब तुलसीलाई चुपचाप निस्किएर फिर्ता जानु भन्नुभयो तब उहाँले आफ्नी पत्नी रत्नावलीलाई त्यसै समय घर हिंड्न आग्रह गर्न थाल्नुभयो । उहाँको त्यो अप्रत्याशित हठ र आशक्ति देखेर उहाँको श्रीमतीले तपाईं मप्रति कत्ति आशक्त हुनुभएको यो आशक्ति धर्म र भगवान्मा भइदिएको भए आज तपाईं कति महान् भइसक्नुभएको हुने थियो भन्नुभयो । उहाँको श्रीमतीको यही भनाइले उहाँलाई ठूलो ज्ञानको बोध भयो । त्यसपछि उहाँ स्त्री आशक्तबाट भगवान आशक्ततिर लाग्नुभयो । यसरी श्रीमतीको भनाइबाट तुलसीरामलाई तुलसीदास बनाइदियो ।
त्यसै समय पत्नीलाई माइतामै छोडेर आफू भने आफ्नो गाउँ राजापुर फर्कनुभयो । आफ्नो घर पुग्दा उहाँले थाहा पाउनुभयो कि उहाँको अनुपस्थितिमा उहाँको पिताको पनि देहान्त भइसकेको र पूरै घर नष्ट भैसकेको बोध भएपछि उहाँलाई निकै कष्ट भयो। विधिविधानपूर्वक आफ्ना पिताको श्राद्ध गरेपछि गाउँमै रहँदै उहाँले भगवान् श्रीरामको पावन कथा सुनाउन थाल्नुभयो ।
त्यहाँबाट तुलसीदास गृहस्थ वेष त्यागेर साधुवेष धारण गरेर काशी गई त्यहीं श्रीरामकथा वाचन गर्दै बस्न थाल्नुभयो । एउटा प्रेतको सहयोगले उहाँको हनुमानजीसँग भेट भयो । हनुमानजीसँग तुलसीदासले श्रीरघुनाथजीको दर्शन गराइदिन प्रार्थना गर्नुभयो। हनुमानजीको परामर्शमा तुलसीदास चित्रकूट पुगेर रामघाटमा आसन लगाई बस्नथाल्नुभयो । एक दिन उहाँले दुई सुन्दर राजकुमार धनुष–वाण धारण गरेर घोड़ामा सवार भएर जाँदै गरेको देख्नुभयो । तुलसीदास तिनलाई देखेर आकर्षित हुनुभयो, तर उहाँले श्रीराम–लक्ष्मण भनेर चिन्न सक्नुभएन । त्यतिकैमा पछाडिबाट हनुमानजीले आएर जब उनलाई सम्पूर्ण कुरो बुझाउनुभयो तब उहाँलाई निकै पश्चाताप भयो । हनुमानजीले उहाँलाई सात्वना दिनुभयो र प्रातःकाल फेरि दर्शन हुने बताउनुभयो ।
संवत् १६०७, मौनी अमावस्याको बुधवारका दिन भगवान् श्रीराम बालक रूपमा पुनः प्रकट हुनुभयो । उहाँले तुलसीदासलाई भन्नुभयो बाबा ! हामीलाई चन्दन चाहिएको छ के तपाईं दिन सक्नुहुन्छ चन्दन ? हनुमानजीले, कतै यसपटक पनि नचिन्लान् कि भन्ने लागेर सुगाको रूप धारण गरेर यो दोहा सुनाउनुभयोः चित्रकूट के घाट पर, भइ सन्तन की भीर।
तुलसिदास चन्दन घिसें, तिलक देत रघुबीर ॥
तुलसीदासजी आफ्ना आराध्य श्रीरामको त्यस अद्भुत छवि निहारेर आफ्नो शरीरको सुधबुध नै बिर्सन पुग्नुभयो । भगवान्ले स्वयं आफ्नै हातले चन्दन लिएर आफ्नो तथा तुलसीदासजीको मस्तकमा लगाइ अन्तर्ध्यान हुनुभयो।
संवत् १६२८ मा तुलदास हनुमान जीको आज्ञा लिएर प्रयागमा माघ मेलामा सहभागी भएर पुनः काशी जानुभयो। त्यहाँ प्रह्लादघाटमा निवास गर्दै आफूमा कवित्व शक्तिको प्रस्फुरण भएको बुझेपछि संस्कृतमा पद्य–रचना गर्न थाल्नुभयो । दिनभरी जति पद्य रचना गरेता पनि रातमा ती सबै लुप्त हुन थाले । यो घटना सधैं घट्ट्यो । आठौं दिन तुलसीदासजीलाई स्वप्नमा भगवान् शिवले आदेश दिनुभयो कि तिमी आफ्नो भाषामा काव्य रचना गर । तिमी अयोध्यामा गएर बस र हिन्दीमा काव्य रचना गर । मेरो आशीर्वादले तिस्रो कृति सामवेद समान फलवती हुनेछ ।
तुलसीदासजी आज्ञा शिरोधार्य गर्दै काशीबाट अयोध्या जानुभयो । संवत् १६३१ प्रारम्भ भयो । दैवयोगले त्यस वर्ष रामनवमीको दिन त्यस्तै योग जुरेको थियो जस्तो त्रेतायुगमा राम जन्मको दिन थियो। त्यस दिन प्रातःकाल तुलसीदासजीले श्रीरामचरितमानसको रचना प्रारम्भ गर्नुभयो । दुई वर्ष, सात महीना र छब्बीस दिनमा यो अद्भुत ग्रन्थ सम्पन्न भयो । संवत् १६३३ मार्गशीर्ष शुक्लपक्षमा राम–जानकी विवाहको दिन सातै काण्ड पूर्ण भयो ।
तुलसीदास काशीको विख्यात् असीघाटमा बस्नु हुन्थ्यो । हनुमानजीको प्रेरणाले कवितावली, गीतावली, श्रीकृष्ण गीतावली, हनुमान बाहुक जस्ता अनेकौं कृति रचना गर्नुभयो । अन्तिम कृति विनय–पत्रिका लेखेर श्रीभगवान्का चरणमा समर्पित गरेर कलियुगको कष्टबाट छुटकारा पाउनुभयो ।
संवत् १६८०, श्रावण कृष्ण तृतीया शनिवारको दिन तुलसीदासजी ‘राम–राम’ जप्दै आफ्नो शरीर परित्याग गर्नुभयो ।
धर्म र भगवानप्रतिको भक्ति र समर्पणको मार्गमा हिंड्नुभएको तुलसीदासको आज जन्म जयन्ती हो । जीवनमा थोरै हण्डर ठक्कर खाएपछिको चेतनालाई ठिक ठाउँमा सदुपयोग गरियो भने जस्तै मानिस पनि महान बन्न सक्छ भन्ने उहाँ ज्वलन्त उदाहरण हुनुहुन्छ । उहाँ शुरूमा स्त्री आशक्त हुनुहुन्थ्यो पछि भगवान आशक्त हुनुभयो। पति-पत्नी बिचको प्रेमले क्षणिक समय शारीरिक आनन्द होला तर भक्त र भगवान बिचको प्रेमले अनन्त आत्मिक सुख प्राप्त हुने बोध तुलसीदास जीवन प्रसंगबाट प्राप्त हुन्छ । – संवाद खबर