SamwadKhabar logo

               

विचार

खरी र अँगारले लेखेका ‘क, ख’ – डा. शुभेच्छु

संवाद खबर

संवाद खबर

खरी र अँगारले लेखेका ‘क, ख’ – डा.  शुभेच्छु
मैले पहिलो दिन कपुरी क लेखेँ । त्यस दिन बेलुका सुत्न अबेर भयो । माताजी र काकीआमाले धन्दा सकुन्जेल म क लेख्न खोजिरहेँ । हजुरबा र पिताजी दाम्ला बाट्तै सिकाइरहे । त्यस दिन बल्ल बल्ल क लेख्न जानेँ । त्यो जनेर आफै दङ्ग परेँ । अलि अबेला बल्ल सुत्न गएँ । आमैले खुसी हुँदै डोर्याएर मतानतिर लगिन् । मतानको अगेना छेउको माथ्लो भुइँ ओछ्यानमा सुताइन् । एक छिन जिउ तातिएपछि पिताजीलाई बोलाइन् । पिताजीले बोकेर लगे । आफ्ना खाटका भित्तापटि सुताए । उनले भने ः हाम्रो बच्चु क लेख्ने भयो । म क लेख्न जानेकामा मख्ख परेँ , र निधाएँ । भोलिपल्ट ख लेख्न त्यतिकै गाह्रो भयो । बेलुका अबेरसम्म म ख नै लेख्न खोजिरहेँ । त्यहाँदेखि मेरो दैनिकी विथोलियो । मलाई जसले देख्यो उसले ‘पढ्’ भन्न थाले । कान्छाबुबाले भेट्यो पढ् । काकीआमाले भेट्यो पढ् । बडीआमाले भेट्यो पढ् । हजुरबा भन्ने पढ् । पिताजी भन्ने पढ् । माताजी भन्ने पढ् । साँल्दिदी भन्ने पढ् । कान्छीदिदी भन्ने पढ् । हुँदा हुँदा बहिनीसँग खेल्न जाऊँ भन्यो ऊ पनि ‘पढ्’ पो भन्न थाली । मलाई ‘पढ’् नभन्ने कोही भएन । बोल्न जाने समुद्रे भैँसीले पनि पढ् भन्थ्यो होला । काले कुकुरले पनि पढ् भन्थ्यो होला । माले गोरुले पनि पढ् भन्थ्यो होला ? म निराश भएँ । मैले जानेका एक दुई खेल मबाट खोसिए । लाग्यो अब मेरा रमाइला दिन गए । म पढाइको अफ्ठ्यारो संसारमा पुगेँ । अँध्यारो सुरुङतिर पसेँ । मलाई पढाउने कुरा मेरो भावनासँग मिल्दो थिएन । बाले दाम्लो बाट्ता बाट्तैको बट्नौटो टाउकामा बजार्न सक्थे । काकाबाले कनसिरी तानिदिन सक्थे । पिताजीले औँलाले लेखाइदिँदा दिँदै औँलो घुलौटामा दुख्ने गरी घोटिदिन सक्थे । म पढ्ने नाउँमा पढ्दै थिइनँ । भोग्न यातना भोग्दै थिएँ । दुःख भोग्दै थिएँ । समस्यामा पर्दै थिएँ । त्यो यातना मेरा लागि मात्र थियो । त्यसको उजुरबाजुर कतै लाग्दैन थियो । तल्लाघर माथ्ला घर खेल्न गयो । लिन कोही न कोही पुगिहाल्थे । काका बा लौरो लिएरै पुग्ने । बहिनीहरुसँग खेल्न खोज्यो । पढाइको कुरा चलिहाल्ने । दिउँसो बासँग बस्तु हेर्न जाँदा पनि पाटी बोकेरै जानुपर्ने । पाटी ढुङ्गामा राखेर खेले पनि हुन्थ्यो तर पाटी र खरी बोकेकै हुनु पर्ने । बाहरु आफ्ना पढाइका कथा सुनाउँथे । पढेन भने कुटी कुटी पढाउनुपर्छ भन्थे । आफूलाई पढ्न सिकाउने गुरुका कथा सुनाउँथे । टुप्पी बाँधेर पढ्नुपर्छ । घुँडा धसेर पढ्नुपर्छ । यस्तै के के के के भन्थे । ती सबै कुरा मेरालागि खतरा थिए । डरलाग्दा थिए । यातनाका विषय थिए । मेरो मन पढ्ने कुराले आतङ्कित थियो । आजित थियो । बिच बिचमा भागेर खेल्न चाहन्थ्यो । छिमेकका साथीसँगीसँग रमाउन चाहन्थ्यो । आमाका पछिपछि घाँसमा वा मेलातिर लाग्न चाहन्थ्यो । तर पढ्नुपर्ने थियो । बाहरु मेरो स्वतन्त्रता खोस्नका लागि तैनाथ थिए । उनीहरुसँग मेरो मनोविज्ञानको म पनि थिएन । मात्र पढ् पढ् पढ् थियो । लाठी, गाली, यातना थियो । कान र कन्सिरीको कुरा थियो । टुप्पी बाँध र घुँडा धसको कुरा थियो । बाहरु चाहन्थे ः हाम्रो नाति एकाएक पढिहालोस् । हाम्रो छोरो पढ्न जान्ने भइहालोस् । उनीहरुले जाने जति घरमै सिकोस् । पहिलो किताब पानी पारोस् । सिलोक पनि गाओस् । छिटोभन्दा छिटो सिकोस् । पढेर फाँडिहालोस् । कपुरी क मोटो ख भन्दै गाँठोपारी ज्ञा सम्म राम्रो नजान्दै अ आ सिकाए । मैले पढेको अ आपछाडि अनार अ, आमा आ थिएनन् । इनार इ पनि थिएन । सोझै अ आ इ ई थिए । बरु ऋ ऋृ थिए । यता मोटो ख, गाइगोडे ग, घर जस्तो घ, मासगेडी ङ लेख्नु थियो । उता पाटी मस्याएर अ आ लेखियो । मेरा लागि नयाँ नयाँ कुरा, नयाँ नयाँ काम थपिए । क ख जानिनसकी अ आले पेल्न थाले । हजुरबा, पिताजी काकाबा सबै पढाउने । उनीहरु पालो गरी गरी पढाउन थाले । एक दुई श्लोक पनि पढाए । उठेर मुख धोएर हात हेर्दै पढ्नु भनेर सिकाए । घोकाए ः कराग्रे बसते लक्ष्मी, करमध्ये सरस्वती, करमुलो तु गोविन्दं, प्रभाते कर दर्शनम् । अरु श्लोक पनि सिकाए । मैले पनि हजुरबा र पिताजीले जस्तै गाएर पढेँ । ती श्लोक पढेँ के भन्नू, अक्षर नचिनी घोकेँ । यस्ता श्लोक आमैलाई पनि आउँथ्यो । हजुरआमालाई पनि आउँथ्यो । हजुरआमा भन्थिन् मैले मेरा बाले विद्यार्थीलाई पढाउँदा सुनेर जानेकी । आमै भन्थिन् मेरो भाइले पढ्दा सुनेर जानेकी । हजुरआमा र आमैलाई सिलोकको अर्थ आउँदैन थियो । बा र पिताजीलाई अर्थ पनि आउँथ्यो । गाएर भन्न भने सबैलाई आउँथ्यो । म के भन्दै हिँडिराछु मलाई थाहा थिएन । एक दिन पिताजीले अर्थ लगाए ः कराग्रे बसते अक्ष्मी = मेरा हातका अगाडि लक्ष्मी बस्छिन् करमध्ये सरस्वती = मेरा हातका बिचमा सरस्वती बस्छिन् करमूले तु गोविन्दं = मेरा हातका बिचमा गोविन्द वा भगवान् बस्छन् प्रभाते कर दर्शनं = म बिहानै लक्ष्मी, सरस्वती र भगवान बस्ने यस्तो हात हेर्छु मलाई लक्ष्मी र सरस्वतीका कथा सुनाइएका थिए । सरस्वती, लक्ष्मी, गोविन्द कोही विशेष थिए । ती भगवान थिए । भगवान भन्दा कुनै विशेष मान्छे जस्ता थिए । म पनि घोकाएका श्लोक आउँदो पार्न थालेँ । सुनेका कुरा आउँदो पारेर हिँड्न थालेँ । वरपर जाँदा भन्न थालेँ । आमालाई र बहिनीलाई सुनाउन थालेँ । मेलामा आउने मान्छेलाई पनि सुनाउन थालेँ । खोले पकाउने अगेनाका छेउमा छरिएका खरानीमा क ख लेख्न थालेँ । आँगनमा खरीले ठुला ठुला क ख लेखिदिएँ । ती देखेर खुसी होलान् भनेको, बाले खरी खिएर सकिन्छ भनेर झन्डै पिटेका । खोले पकाउने भाँडो बाहिरपटि कालो थियो । त्यसमा पनि खरीले क ख लेखेँ । त्यसमा लेखेको क ख भोलिपल्ट खोले पकाउँदा मेटियो । ढिकीमा खरीले लेखेको अ पछिसम्म थियो । मलाई त्यस बेला जानेको कुरा जहाँ पायो त्यहाँ लेख्न मन लाग्थ्यो । भात खाने थालमा औँलो घुमाएर क बनाउँथेँ । आमै गाली गर्थिन्, त्यसो नगर् विद्या खाइन्छ । अँगार टिपेर छेउमा लेखिदिन्थेँ । आमै गाली गर्थिन्, रिन लाग्छ ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

विजय प्रसाद मिश्र झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्न…

तीजको सामाजिक-सांस्कृतिक महत्व

तीजको सामाजिक-सांस्कृतिक महत्व

काठमाडौं ।विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्…

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व, बुबाको मुख हेर्ने दिन

कुशको धार्मिक तथा वैज्ञानिक महत्व विषयमाअर्थ वेद, भागवत गीता, विष्णु पुराण, गरुड पुर…

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

२५ साउन, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्र…