“उसको सपना पनि त्यही रात सकिन्छ”
स्युँइया स्युँइया.....लामो सुस्केरा लिँदै आमा र बा कोठाभित्र पस्नासाथ विश्राम गर्न तर्फ लाग्दछन् । त्यो झिसमिसे विहान हुन लागेको जस्तै देखिने अर्ध अँध्यारो कोठामा एउटी सानी छोरीकी साथ दश वर्षिय बालक हुन्छन् ।
कोठामा पस्नासाथ बालकले सोध्छः आमा, आज मेरो बर्थडे केक खोई? आमाबुबा आफ्नो छोराको जन्मदिन मनाई दिने रहर नभएका होइनन् । रहर छ, तर बाध्यताले बाधिएका छन् । बस्् त्यो बाध्यताले स्वभिमान् र देह मात्र बिकाउन सकेका छैनन् । छोरा पोहोर साल नभएर यसपालि त पक्कै पनि जन्मदिन मनाइने आशमा बसेका ठुस्केर बस्छन् । ती थकित बुबाआमालाई फेरी सुरु भयो छोराछोरीका गनगन र तनाव ।
छोरो अर्काको छोराछोरी सित कम्प्युटर, ल्याप्टप, मोबाइल आदि इत्यादि भएको लामो सूची तिर मात्र ध्यान दिन्छन् । आफ्ना आमाबुबाले के कसरी दुःख गरी रहेका छन्, अत्तोपत्तो हुन्न । हुन पनि कसरी होस् त त्यो सानो १० वर्षका अबोध बालकलाई । अमिलो मुख बनाएर बसेका आमाबुबालाई ५ वर्षकी छोरीको विद्यालयमा भोलि कार्यक्रममा लगाउन नयाँ लुगाको माग तेर्सिन्छ ।
छोराछोरीका माग बस् कुनै दिन ती मजदुुर बाआमालाई फाँसी बन्न मात्र बाँकी छ । झन् बढ्दै गरेको महंगीले सुनमा सुगन्ध थपेको झैँ भएको छ । आफ्नो कुनै व्यवसाय जो मेरो भन्न सक्ने त्यो पनि छैन । कति गाह्रो छ मजदुरको जिन्दगी दिनभरी काम गर । दिनभरी काम गरेको त्यही मिहीनेत एक रातमा सकाउ । बस् उसको सपना पनि त्यही रात सकिन्छ । विपनामै सपना देख्दछ तर त्यो सपना सपनामा नआउँदै विलाउँछ । सपना पनि रिसाए छन् ती मजदुरहरु सित ।