SamwadKhabar logo

               

कला / साहित्य

हरिहर खनालको कथाकारिता– डा. शुभेच्छु

संवाद खबर

संवाद खबर

हरिहर खनालको कथाकारिता– डा. शुभेच्छु
डा. रमेश शुभेच्छु युवा पुस्ताका विशिष्ट कवि एवम् समालोचक हुन् । उनको व्यस्तता अहिले विभिन्न मञ्चमा लेखकहरुका व्यक्तित्व र कृतित्व केन्द्रित मन्तव्य राख्नमा देखिन्छ । उनको प्रखर वक्तृत्वका कारण उनी युवा उमेरमै मञ्चमा विकेका प्रतिभा हुन् । गत शनिबार टोखा नगरपालिकामा तिलिङ्गाटार मा.वि र आदर्श समाज तिलिङ्गा टारको सहआयोजनामा भएको नवनिर्वाचित पदाधिकारीहरुको स्वागत सम्मान एवम् हरिहर खनाल ग्रन्थाली एक विमोचन समारोहमा विशेष अतिथिका रुपमा मञ्चमा थिए । त्यहाँ उनले प्रस्तुत गरेको मन्तव्यको रेकर्डलाई उतार गरी आंशिक सम्पादनसहित यहाँ प्रस्तुत गरिएको छ । सम्पा.
धन्यवाद उद्घोषकज्यू, सभाका सभाध्यक्ष द्वय आदरणीय हरिहर खनाल एवम् नरोत्तम रानाज्यू, कार्यक्रमका प्रमुख अतिथिज्यू, कार्यक्रमका विशेष अतिथि आदरणीय नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिज्यू, टोखा नगरपालिकाका उपमेयर लामाज्यू, मञ्चासीन बौद्धिक एवम् समाजसेवी व्यक्तित्वहरु, नवनिर्वाचित टोखा नगरपालिकाका सबै वडाका वडाध्यक्ष एवम् सदस्यहरु, तिलिङ्गाटार विद्यालयका आदरणीय गुरु गुरुआमाहरु, आदर्श समाज र तिलिङ्गाटार विद्यालय संबद्ध सम्पूर्ण महानुभावहरु, यहाँहरुसबैमा मेरो हार्दिक अभिवादन । एउटा शैक्षिक र एउटा सामाजिक संस्थाको सहआयोजनामा हुँदै गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत सम्मान एवम् हरिहर खनालको कृति लोकार्पण समारोहमा उभिएर पुस्तक समीक्षकका रुपमा बोलिरहँदा मलाई गौरब बोध भएको छ । म सर्वप्रथमत जनअपेक्षाअनुरुप सम्पूर्ण नवनिर्वाचित पदादिकारीहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु । त्यसै गरी आफ्ना पूर्वप्रकाशित कृतिको एकीकृत स्वरुपमा ग्रन्थन गरी यसरी बृहत् कृति प्रकाशन गर्न सक्नुभएकामा आदरणीय अग्रज हरिहर खनालमा बधाई ज्ञापन गर्दछु । यस कार्यक्रमका आयोजक संस्थाहरु तिलिङ्गाटार मा. वि र आदर्श समाजप्रति आभार चढाउँछु । मलाई जनप्रतिनिधिका विषयमा, चुनावका विषयमा, आजको बदलिँदो परिस्थितिका विषयमा र विकास निर्माणका विषयमा पनि बोल्ने मन थियो । मलाई उद्घोषकले एउटा निश्चित समय सीमामा बाँधिदिइसक्नुभएको छ । यस अर्थमा म हरिहर खनाल ग्रन्थावलीको पहिलो खण्डका विषयमा मात्र आफ्नो भनाइलाई केन्द्रित गर्छु । हरिहर खनालमा मात्र केन्द्रित गर्छु । मलाई कार्यक्रमको प्रकृति सुन्दा लागेको थियो हरिहर सरले किन काठमाडौँको केन्द्रमा कतै ठुलो हलमा साहित्यकारका बिचमा यो कृति सार्वजनिक नगरेर आफ्नै टोलमा गर्दै हुनुहुन्छ ? मैले यहाँ आएपछि थाहा पाएँ । यो टोल त धेरै बौद्धिक मासिसहरुको बसोबास भएको र यी संस्थासँग यतिका विशिष्ट व्यक्ति जोडिएको टोल पो रहेछ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपतिको टोल पनि यही, पूर्व सचिव आत्मराम पाण्डेको टोल यही, प्राध्यापक डा. गोविन्द नेपालको टोल यही, महेश्वर शर्मा पौडेलको टोल यही, प्रा.डा शेषकान्त अर्यालको टोल यही, हरिहर खनालको टोल यही, रामबाबु सुवेदीको टोल यही, तिलिङ्गाटार मा.बि जस्तो नमुना स्कुल यहीँ । यहाँ अरु पनि अनेक कुरा छन् । यो सांस्कृति सहर पनि हो । ऐतिहासिक स्थल पनि हो । यसमा पौराणिक पक्षहरु पनि जोडिन सक्छन् । अनि यहाँ नगरेर कहाँ अन्त गरिरहनुपर्यो भन्निे लाग्यो । हरिहर खनाल यस टोलमा टोलको संस्थाको नेतृत्व गर्ने सामाजिक अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । उहाँ राष्ट्रिय व्यक्तित्व सम्पन्न व्यक्ति हुनुहुन्छ । उहाँका साहित्यकार, शिक्षासेवी, साहित्यसञ्चारकर्मी, सङ्गठक, अभिप्रेरक व्यक्तित्व हुनुहुन्छ । उहाँले विद्यालयदेखि महाविद्यालयसम्म शिक्षाण प्राध्यापन गर्नुभयो । विद्यालयको प्रअदेखि महाविद्यालयको प्राचार्यसम्म भएर सेवा गर्नुभयो । उहाँले शिक्षा र साहित्य सेवालाई पनि निरन्तर कायम राख्नुभयो । समाजको परिवर्तनका पक्षमा राजनीतिक रुपले पनि सक्रिय हुनुभयो तर त्यो विचार निर्माणका लागि सधैँ अग्रमोर्चामा रहनुभयो । साहित्यमा उहाँको साहित्यिक योगदान मात्र पनि बहुमुखी छ । उहाँ कथाकार हो, उपन्यासकार हो, उहाँ विशिष्ट निबन्धकार, विशिष्ट अनुवादक, विशिष्ट समीक्षक, विशिष्ट वार्ताकार आदिका रुपमा उहाँको परिचय छ । खनालज्यू  विशिष्ट अनुवादक हुनुहुन्छ । उहाँले म्याक्सिम गोर्कीको जीवनी अनुवाद गर्नुभएको छ । गोर्कीका, अल्वेयर कामुका र अरु थुप्रै विश्वप्रसिद्ध लेखकका महत्वपूर्ण कृतिहरु अनुवाद गर्नुभएको छ । यहाँले चीनका राष्ट्रपति सी जिन पिङका भाषणहरुको पनि अनुवाद गर्नुभएको छ । उहाँले अनुवाद गरेको त्यो ग्रन्थ तपाईं जनप्रतिनिधिहरुका लागि उपयोगी छ । मैले उहाँले अनुवाद गरेको त्यो ग्रन्थ चीन अध्ययन केन्द्रका तर्फबाट सम्पादन गर्ने मौका पाएको थिएँ । त्यो कृति जनप्रतिनिधिहरुलाई काम लाग्ने खालको छ । त्यहाँ उनको एउटा भाषणमा असीदेखि सय सम्म फुटनोट प्रयोग भएको छ । करिब सय जनासम्म विशेषज्ञले हेरेपछि मात्र त्यो भाषण उनले प्रस्तुत गर्ने गरेको पाइयो । जनप्रतिनिधिहरुले विशेषज्ञका विचार, तथ्यमा टेकेर मात्र बोल्नुपर्छ भन्ने कुरा सिकाउँछ । मैले खनाल सरका अनुवादका विषयमा चर्चा गर्दा यति कुरा जनप्रतिनिधिहरुलाई भन्न पनि धृष्टता गरेँ । हरिहर खनाल ग्रन्थावली एक उहाँका कथाहरुको संकलन हो । यस संकलनमा उहाँका ३९ वटा कथा समेटिएका छन् । यी कथाहरु नेपालको राजनीतिक इतिहासको पञ्चायत कालीन परिवेशलाई समेटेका छन् । म यो सीमित समयमा धेरै कुरा बोल्न नसकूँला । यस कृतिमा मैले पृ.७ देखि १३१ पेजसम्मको लामै भूमिका लेखेको छु । यो भूमिका लेखन, यसरी बोल्ने अवसर मेरा पिताका उमेरका अग्रजले दिनु नवपुस्ताप्रतिको प्रेम, सद्भाव हो भन्ने मेरो बुझाइछ । अग्रज पुस्ताले नवपुस्तालाई विश्वास गर्छ भनने विश्वास बढेको छ । म यहाँका कथाका केही सारभूत कुरा मात्र गर्छु । प्रस्तुत ग्रन्थमा समेटिएका कथाका आधारमा र समग्र कथाका आधारमा हरिहर खनाल आफ्ना अग्रजहरु पारिजात, रमेश विकल आदिका प्रभावमा निरन्तर उहाँहरुकै उत्तराधिकारीका रुपमा कलम चलाइरहनुभएको छ । उहाँले पञ्चायतकालीन राजनीतिज्ञहरुका जीवनकथालाई लेख्नुभएको छ । त्यस बेला राजनीति गर्न अहिले जस्तो सजिलो थिएन । भूमिगत राजनीतिमा संलग्न थुप्रै पात्रहरु खनालका कथाका नायक बनेका छन् । उनीहरुलाई दुःद खिने गाउाका मुखिया र सामन्तहरु खलनायक बनेका छन् । खनाल शिक्षासेवी व्यक्ति हुँदा उहाँका कथामा अधिकांश नायकहरु तपाईंहामी जस्ता शिक्षक छन् । उहाँले विभिन्न विद्यालयका साथै सप्तगण्डकी क्याम्पस र विरेन्द्र बहुमुखी क्याम्पसमा पढाउनुभयो । कतिपय प्राध्यापकहरुका कथा छन् । शिक्षक विद्यार्थीका खटपट र सुमधुर सम्बन्धका कथा छन् । राजनीतिक क्षेत्रका नायक र खलनायक छन् । प्राय समाजले हेपेका, पछाडि पारेका, वर्गले जातले र अन्य वसरले किनारामा पारिएका पात्रहरु आएका छन् । महिला दिदी बहिनीका समस्या छन् । उहाँको जीवन दृष्टि वर्गीय पक्षमध्य निम्न वर्गीय पक्षधरतामा अडेको छ । यस आधारमा उहाँ प्रगतिवादी कथाकारका रुपमा चिनिनुहुन्छ । यहाँ समेटिएका कथालाई म वस्तुगत विश्लेषण गर्न सक्तिनँ । मसँग त्यो समय पुग्दैन यहाँहरुले साथी कथा हेर्नुुभयो भने भूमिगत जीवनका समस्यालाई देख्नुहुन्छ । बकैनाको बोट वरिपरि कथा हेर्नुभयो भने संरक्षित वन छेउका मानिसका समस्या बुझ्न पाउनुहुन्छ । सामान्य घाँस दाउरा गर्ने मानिस अपराधि करार हुने र काठै काटेर बेच्ने पानीमाथिका ओभाना हुने पक्ष देखाइएको छ । कतिपय कथाले निजामति कर्मचारी र प्रशासन संयन्त्रका कमजोरीहरुलाई देखाएका छन् । यहाँ देशका पूर्वसचिवहरु ह्ुनुहुन्छ त्यो क्षेत्र किन यसरी भ्रष्ट भयो भन्ने जवाफ पनि खनालका कथामा पाइन्छ । दोसाँधका दुई क्षण जस्ता कथामा जागिरे जीवनका समस्या पनि छन् । त्यासो भन्दा पनि उहाँ जागिरे जीवनका निम्न वेतनले घर चलाउन समस्या परेका घटनासँगै सर्वसाधारणलाई दुःख दिने कामचोर कर्मचारीका चरित्र उदाङ्गो पार्न प्रयत्नरत देखिनुहुन्छ । कालोवादल भित्रको जुन कथा कुनै नारी कसरी भट्टी पसल चलाउन र परिआए शरीर बेच्न विवश हुन्छे भन्ने कथा छ । यस्ता सबै उदाहरण म यहाँ दिन सक्तिनँ । खनाल सर समाजका किनारमा रहेका पात्रका कथाकार हुनुहुन्छ । खनाल सर स्याङजामा जन्मिएर, चितवनलाई कर्मभूमि बनाउँदै अहिले काठमाडौँलाई कर्मभूमि बनाएर बस्नुभएको छ । उहाँ आज हेर्दा हँसिलो, रसिलो गम्भीर जुन व्यक्तित्वका साथ, खुसीसाथ जीवनको उत्तरार्धतिरको जीवन बिताइरहनुभएको छ । यहाँ पुग्न उहाँको बाटो धेरै घुम्ती, कुइनेटा, उकाली ओराली पार गरेर आएको छ । उहाँले निकै कष्टसाध्य जीवन बिताउँदै आउनुभएको छ । उहाँले आफ्नो जीवन जस्तै घुमाउरो बाटो हिँड्ने संघर्षशील पात्र छान्दै कथा लेख्दै गर्नुभएको छ । उहाँका जीवनका उतारचढाव पनि यी कथामा पढ्न पाइन्छ । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले कथालाई एउटा सानो आँखीझ्याल भन्नुभएको थियो । खनालका कथाको आँखीझ्याल त्यति सानो छैन । एउटै कथामा विविध पक्ष समेट्ने प्रयत्न भएको छ । उहाँका कथामा हामी र हामी जस्तै लाग्ने, हाम्रा आफन्त जस्तै लाग्ने, हामीले संगत गरेका र व्यहोरेका जस्तै लाग्ने पात्रका कथा पढ्न पाइन्छ । कतिपय ठाउँमा खनाल सर नै अर्को नामको पात्र बनेर आएको जस्तो पनि देखिन्छ । यस खण्डका कथामा पञ्चायत कालीन नेपालका विविध पक्ष पढ्न पाइन्छ । उहाँले हेर्ने आँखीझ्याल अनेक छन् र त्यहाँबाट देखिने समस्या अनेक छन् । उहाँ यो घरको आँखीझ्यालबाट पल्लोघरको वरण्डा मात्र देख्नुहुन्न । तल बाटामा हिँडिरहेका भुइँमान्छेहरु बढी देख्नुहुन्छ । प्रसिद्ध आख्यानकार प्रेमचन्दले आख्यानलाई गमलाको फूल भन्नुभएको थियो । उपन्यास जस्तो सबै रसको अपेक्षा नरहने छोटो रचनाका रुपमा चिनाउनुभएको छ । त्यस चिन्तनअनुरुप खनाल सरका कथा पढ्न सकिन्छ । खनाल सर लामो समय चितवन बस्नुभयो । उहाँले त्यहाँको स्थानीय परिवेशलाई जीवन्त रुपमा प्रस्तुत गर्नुभएको छ । वन संरक्षित जीवन जन्तु संरक्षित क्षेत्रका सर्वसाधारण मानिसका समस्या अघि भनेका जस्ता घाँस दाउराका समस्यालाई वस्तुगत रुपले प्रस्तुत गर्नुभएको छ । नेपालको पञ्चायतकालीन प्रहरी प्रशासनको मनस्थिति र परिचालन, जनताको अवस्था, शिक्षा, चेतना, स्वास्थ्यलगायत विभिन्न अवसरबाट बञ्चित समुदायका र क्षेत्रका एवम् राष्ट्रका विविध पक्षलाई परिवेशका रुपमा समेट्नुभएको छ । केही कथा आञ्चलिक परिवेशमा केन्द्रित छन् भने केही राष्ट्रिय अन्तराष्ट्रिय परिवेशमा केन्द्रित छन् । उहाँले प्राकृतिक, सामाजिक, सांस्कृतिक परिवेशलाई सकेसम्म वस्तुगत, चित्रात्मक र जीवन्त रुपमा प्रस्तुत गर्नुभएको छ । सर्वसाधारणका खेतीबाली, वन, खर्क, कार्यकक्ष, सुकुुमबासी बस्ती र अनेक अवसरबाट वञ्चीन पिछाडि परेका गाउँका छाप्राका जनजीवनलाई समेट्नुभएको छ र त्यहाँका निकै जागरुक पात्रलाई कथामा सक्रिय पार्नुभएको छ । मैले भनेका पात्र र परिवेशले र कथाले मात्र कुनै साहित्य उच्च स्तरको साहित्य बनिहाल्दैन । त्यसमा साहित्यिक कलाको पनि त्यत्तिकै अपेक्षा रहन्छ । खनाल सर स्वयम् साहित्यको विद्यार्थी हुँदा उहाँका कथामा साहित्यिक कला र जीवनचेताको संयोजन पाइन्छ । उहाँले विम्बात्मक, प्रतीकात्मक भाषाको प्रयोग गर्नुभएको छ । अधुनातन सिकारु क्विको भन्दा उच्च कवितात्मक भषाको प्रयोग आख्यानभित्रै गर्नुभएको छ । कतिपय पात्र र परिवेशलाई रहस्यमय बनाउँदै पाकलाई कथा पढिरहनुपर्ने अवस्थामा पुर्याउनुभएको छ । प्रायः कथामा पात्रको शिक्षा चेतना र जीवनस्तरअनुरुपको भाषाको प्रयोग गर्न लगाएर, उनीहरुका संवादका माध्यमबाट स्थानीय रङ देखाएर, कथा सिर्जना गर्नुभएको छ । मैले उहाँका अरु पनि सबै कथा पढेको छु । म उहाँका कथाको इमानदार पठक हुँ । उहाँले यस ठेलीमा समेटिएका भन्दा दोस्रो र तेस्रो ठेलीमा समेटिएका कथाको शीर्षकीकरणदेखि सिर्जनामा थप प्रतीकीकरण गर्नुभएको छ । यहाँ पनि त्यो विशेषता पाइन्छ । उहाँले एउटा कथामा एउटी भट्टी पसल्नी नारीलाई कालो बादलभित्रकी चन्द्रमा भनेर शीर्षकीकरण गर्नुभएको छ । यहाँका कथाका शीर्षक मात्र हेर्यो भने पनि यी विम्बात्मक छन् प्रतीकात्मक छन् । आकाश छुने डाँडोमुनि कथाको शीर्षक, बकैनाको बोट वरिपरि, सेपमुनिको खेती, बमको छिर्का जस्ता कथाका शीर्षक पनि प्रतीकात्मक लाग्छन् । उहाँले शीर्षक मात्र होइन पात्र परिवेश र विषयलाई पनि र घटनालाई पनि प्रतीकीकरण गर्ने प्रयत्न गर्नुभएको छ । खनाल सरले २०२५ सालदेखि अहिलेसम्म लगातार कथा लेखिरहनुभएको छ । उहाँका त्यस बेलादेखि अहिलेसम्म प्रकाशन हुने प्रायः राष्ट्रिय दैनिकमा कथा छापिएका छन् । प्रायः साहित्यिक पत्रिकामा उहाँका कथा छापिएका भेटिन्छन् । उहाँका कथा मोफसलका पत्रपत्रिकामा पनि छापिएका छन् केन्द्रका पत्रपत्रिकामा पनि छापिएका छन् । उहाँ निरन्तर एकपछि अर्को कथा लेखेर अफैसँगको प्रतिस्पर्धामा हुनुहुन्छ र आफूलाई जितिपनि रहनुभएको छ । उहाँका कथासंग्रह मात्र पनि एक दर्जनभन्दा बढी भइसकेका छन् । समग्र कथाहरु डेढ सय पुगिसकेका छन् । यस्ता कथाकारका बारे र उहाँका यतिका कथा समेटिएको चार सय अधिक पेजको कृतिबारे यो सीमित समयमा धेरै कुरा भन्न सकिँदैन । आज यति मात्र भनूँ उहाँ नेपाली कथा परम्पराका एक उललेख्य प्रतिनिधि कथाकार हुनुहुन्छ । उहाँ आदरणीय कथाशास्त्री दयाराम श्रेष्ठ गुरुले भने जस्तै राजनीतिक रुपले सचेत आफ्नो बौद्धिकतालाई कथाकलाका माध्यमबाट व्यक्त गर्ने कथाकार हुनुहुन्छ । यसो भन्नुको अर्थ उहाँ सिर्जनाबाट समाज परिवर्तनको राजनीति गर्नुहुन्छ । जनप्रतिनिधितिर फर्किएर भन्दा तपाईँहरु राजनीति गर्छु भनेर राजनीति गर्नुहुन्छ समाज सुधारको प्रयत्न गर्नुहुन्छ खनाल सर त्यसो नभनी लेखेर र समाजको चेतना विकास गरेर समाजको पििरवर्तनको काम गर्नुहुन्छ । सम्भवत त्यसैले उहाँले आज यो कृतिको विमोचन जनप्रतिनिधिका बिचमा राख्नुभयो । साहित्यकारका बिचमा विमोचन हुँदा यसको विमर्शमा केन्द्रित अरु कार्यक्रम हुन्थे होला यहाँ हुँदा जनप्रतिनिधिहरुलाई आफ्ना टोलमा भएका बौद्धिक केन्द्रका विषयमा थाहा भयो । उहाँका कथाको विम्ब, प्रतीक निर्माण सामथ्र्य कविता कलासँग तुल्य छ । यो थोरै कथाकारका भषामा पाइने र कथा निर्माण कलामा पाइने प्रवृत्ति हो । म खनाल सरका विषयमा बोलिपनि रहेको छु । लेखि पनि रहेको छु । म बाँकी कुराहरु लेखेरै प्रस्तुत गर्ने छु । उहाँका समग्र कृतिका दश वटा ठेली प्रकाशन हुँदै छन् । तिनमा पनि अवसर पाएसम्म लेखूँला । नपाए समीक्षाका रुप्मा लेख्दै गाउँला । मौका परेसम्म बोल्दै जाउँला । आज यस विशिष्ट समारोहमा पुनः एक पटक सम्पूर्ण नगरप्रमुख, उपप्रमुखलगायत सम्पूूर्ण जनप्रतिनिधिमा हार्दिक बधाई । हरिहर खनालज्यूमा यति गहन कृतिका लागि थप बधाई । यस विशिष्ट समारोहमा बोल्ने अवसरका लागि दुवै आयोजक संस्थाहरुमा पुनः आभार प्रकट गर्दै बिदा लिन्छु । धनयवाद ।  

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…